एजेन्सी । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै निवासमा उनको निधन भएको हो । बीबीसी न्युजका अनुसार नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना बुबाको निधन भएको पुष्टि गरेका छन् ।
यसैगरी, समाचार संस्था पीटीआईका अनुसार पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । पणजीनजिक डोना पाउलास्थित आफ्नो अपार्टमेन्टमा बेहोस अवस्थामा भेटिएपछि पाटेकरलाई निजी अस्पताल लगिएको थियो ।
पाटेकर अभिनयसँगै सामाजिक सेवामा पनि सक्रिय थिए । ‘नाम फाउन्डेसन’मार्फत महाराष्ट्रका ग्रामीण क्षेत्रमा जल संरक्षण तथा जलग्रहण क्षेत्र व्यवस्थापनका क्षेत्रमा उनले उल्लेखनीय काम गरेका थिए । आत्महत्या गरेका किसानका परिवारलाई सहयोग गर्दै आएका पाटेकरले धेरै परिवारलाई राहत र सहारा दिएका थिए ।
नाना पाटेकर पछिल्लो समय चलचित्रसँगै ओटीटीमा पनि सक्रिय थिए । उनी पछिल्लो पटक विशाल भारद्वाज निर्देशित रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’मा देखिएका थिए । सन् २०२६ को फेब्रुअरीमा प्रदर्शन भएको उक्त चलचित्रमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए। पाटेकरले चलचित्रमा मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?