परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजित त्रिविको ६७औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरी प्रणाली सुधार गर्न आग्रह गरेका हुन् । उनले शैक्षिक क्यालेन्डरलाई प्रभावकारी र अनिवार्य रूपमा कार्यान्वयन गर्दै परीक्षा, नतिजा र शैक्षिक गतिविधिलाई निर्धारित समयमै अघि बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।
मन्त्री पोखरेलले त्रिविलाई केवल पठनपाठन गराउने संस्थाका रूपमा सीमित नराखी मुलुकको नीति, कानुन तथा पाठ्यक्रम निर्माणमा योगदान पु¥याउने अनुसन्धान र ज्ञानको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । उनका अनुसार देशका १५ वटै विश्वविद्यालय कुनै न कुनै रूपमा त्रिविसँग जोडिएकाले अन्य विश्वविद्यालयसँग समन्वय र अभिभावकीय भूमिका निर्वाह गर्ने जिम्मेवारी पनि त्रिविकै रहेको पनि बताए ।
मन्त्री पोखरेलले त्रिविको अधिकार र सेवा काठमाडौंमै केन्द्रित नराखी प्रदेशस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै यसै वर्षदेखि काठमाडौंबाहिरका प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गरी विकेन्द्रीकरणको सुरुवात गर्न लागिएको जानकारी दिए । साथै, आंगिक क्याम्पसका जीर्ण पूर्वाधार सुधार, खुला क्षेत्र तथा पार्कको सरसफाइ र सौन्दर्यीकरणसँगै विदेशी विद्यार्थी आकर्षित गर्ने वातावरण निर्माण गर्न मन्त्री पोखरेलले सुझाव दिए ।
पठनपाठनसँगै विद्यार्थीमा नयाँ सोच, सिर्जनशीलता र अनुसन्धानको संस्कृति विकास गर्न विश्वविद्यालयका इनोभेसन सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?