काठमाडौं । चन्द्रागिरि नगरपालिकामा तेस्रो संस्करणको अन्तरवडा कप फुटबल प्रतियोगिता कात्तिक २८ गते आयोजना हुने भएको छ ।
चन्द्रागिरि अन्तरवडा कप प्रतियोगिता समितिको असोज २१ गते बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको समितिका अध्यक्ष नेशन महर्जनले जानकारी दिनुभयो । उहाँले बैठकले यसअघि सम्पन्न दोस्रो संस्करणको प्रतियोगिताको आर्थिक प्रतिवेदनसमेत सर्वसम्मतिले पारित गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष महर्जनले दोस्रो संस्करणको प्रतियोगिताका लागि १५ लाख ८० हजार रुपैयाँ आर्थिक संकलन भएकोमा प्रतियोगिता संचालनमा १३ लाख ५९ हजार ७० रुपैयाँ खर्च भएको जानकारी गराउनु भयो । उहाँले अहिले १ लाख ७१ हजार ५ सय २९ रुपैयाँ समितिको खातामा मौज्दात रहेको उल्लेख गर्नुभयो ।

तेस्रो संस्करणलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न तयारी अघि बढाइने समितिले जनाएको छ । अध्यक्ष महर्जनले विगतका प्रतियोगिता सफल बनाउन सहयोग गर्ने संघसंस्था, व्यक्ति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी प्रतियोगितामा पनि सबै पक्षको निरन्तर सहयोग र सहभागिताको अपेक्षा गर्नुभएको छ ।
अन्तरवडा कपले चन्द्रागिरिका विभिन्न वडाबीच खेलकुदमार्फत आपसी सम्बन्ध र सहकार्य बढाउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?