इतिहास, संस्कृति र समकालीन जीवनका फरक–फरक आयामलाई समेटेका दुई कृति एकै मञ्चबाट सार्वजनिक भएका छन् । चन्द्रागिरि साहित्य समाजद्वारा प्रकाशित साहित्यकार भीमनारायण श्रेष्ठको खोजमूलक कृति ‘नेवाः लोकसंस्कृति’ र कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ विशेष समारोहबीच सार्वजनिक गरिएको हो । समाजले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले यी दुबै कृतिको एकैसाथ विमोचन गर्नुभएको थियो ।
‘नेवाः लोकसंस्कृति’ लाई नेवार समुदायमा पुस्तौँदेखि चलिआएका तर विस्तारै ओझेलमा पर्दै गएका संस्कार, परम्परा र सांस्कृतिक अभ्यासलाई अभिलेखीकरण गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ । कृतिमा नेवार समाजका धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएका विभिन्न विषयलाई खोज र अध्ययनका आधारमा समेटिएको छ ।
कृतिका समीक्षक अमर प्रधानले लोकसंस्कृति कुनै एक पुस्ताको मात्र सम्पत्ति नभई पुस्तौँको अभ्यास र अनुभवबाट निर्माण हुने सामाजिक धरोहर भएको बताउनु भएको थियो । उहाँले पुस्तकमा कोतघरबाट संचालन हुने जात्रा तथा पर्वदेखि समाजमा हराउँदै गएका पानीघट्ट, सोह्र संस्कार र जङ्क्वलगायतका विषयलाई सरल र खोजमूलक ढङ्गले प्रस्तुत गरिएको छ । उहाँले नेवार सभ्यता अझै जीवन्त रहेको उल्लेख गर्दै यस्ता कृतिले त्यसको मौलिकता बुझ्न र भावी पुस्तासम्म पुर्याउन सहयोग गर्ने धारणा राख्नुभएको थियो ।
सीएमसी प्रेसका सम्पादक तथा इतिहास अध्येता रवीन्द्र रिजालले कृतिमा समेटिएका विषयलाई ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण भएको भन्दै चन्द्रागिरि क्षेत्रमा रहेका गढी, किल्ला, दुर्ग, कोत तथा कोटसँग जोडिएका परम्परा र जात्राले यस क्षेत्रको पुरानो सामाजिक तथा सांस्कृतिक संरचनाको झल्को दिएको बताउनु भएको थियो । रिजालले कृषि सभ्यताको विकाससँगै विभिन्न जीवजन्तुलाई सांस्कृतिक तथा धार्मिक अभ्याससँग जोड्ने परम्परा विकसित भएको भन्दै प्रशंसा गर्नुभयो ।

‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ कविता संग्रह
‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ भने समकालीन समाज, मानवीय संवेदना, विचार र जीवनका जटिल पक्षलाई कवितामार्फत अभिव्यक्त गर्ने प्रयासका रूपमा कार्यक्रम लिइएको थियो ।
कविता संग्रहकी समीक्षक राधिका कल्पितले मौन आवाजका कवितामा विचार, भावना र उद्वेगको सन्तुलित सम्मिश्रण भेटिने बताउनुभयो । उहाँले कविताले पाठकलाई तत्कालको अनुभूति मात्र नदिई केही समयसम्म सोच्न बाध्य बनाउने धारणा राख्नुभयो ।
कल्पितले कविका रचनामा समय र समाजको कठोर यथार्थलाई सरल तर प्रभावशाली भाषामा प्रस्तुत गर्ने प्रयास भएको बताउनु भएको थियो । जीवनका असहज र प्रायः बोल्न हिच्किचाइने विषयलाई पनि कवि मौन आवाजले आफ्नै शैलीमा अभिव्यक्त गर्न सक्नु कृतिको प्रमुख विशेषता भएको उल्लेख गर्नुभयो ।
रिजालले आफू मौन आवाजका कविताको पाठक रहेको उल्लेख गर्दै उनका कवितामा दार्शनिक चिन्तनको आधारसमेत भेटिने भन्दै कविता ज्ञान, जीवनबोध र मूल्यको प्रश्नसँग जोडिँदै अघि बढेको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।
समारोहमा प्रमुख अतिथि अविनाश श्रेष्ठले दुवै कृतिले संस्कृति र साहित्यका फरक क्षेत्रलाई समेटेर पाठकसमक्ष महत्वपूर्ण सामग्री पस्कन सफल भएको बताउनुभयो । उहाँले सांस्कृतिक विषयमा गहिरिएर कलम चलाउनु सहज काम नभएको उल्लेख गर्दै भीमनारायण श्रेष्ठले प्रज्ञा–प्रतिष्ठानले गर्नुपर्ने प्रकृतिको खोज तथा अभिलेखीकरणको काम व्यक्तिगत प्रयासबाट अघि बढाएकोमा प्रशंसा गर्नुभयो ।
यस्तै मौन आवाजको साहित्यिक योगदानको चर्चा गर्दै उहाँले चन्द्रागिरिमा सिर्जना भइरहेका साहित्यिक गतिविधिलाई स्थानीय सीमाभित्र मात्र हेर्न नहुने धारणा राख्नुभयो । नजिकै रहेका सिर्जनाकर्मी र साहित्यिक गतिविधिको उचित मूल्यांकन र प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विन्दु श्रेष्ठले ‘नेवाः लोकसंस्कृति’ चन्द्रागिरिको सांस्कृतिक सम्पत्तिका रूपमा स्थापित हुन सक्ने बताउँदै दुवै कृतिका सर्जकलाई शुभकामना दिनुभयो । अर्की प्रदेशसभा सदस्य यमुना श्रेष्ठले पुर्खाले छाडेर गएका सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सबैको भूमिका आवश्यक रहेको बताउनुभएको थियो ।
दुई कृतिको सार्वजनिकसँगै चन्द्रागिरिको साहित्यिक गतिविधिले संस्कृति र सिर्जनालाई एउटै मञ्चमा जोडेको छ । एउटा कृतिले हराउँदै गएको सांस्कृतिक स्मृतिलाई समेटेको छ भने अर्कोले वर्तमान समयका अनुभूति, प्रश्न र यथार्थलाई कविताको भाषामा अभिव्यक्त गरेको छ । यही कारण यी दुई कृति चन्द्रागिरिको साहित्यिक यात्राका मात्र होइन, नेपाली समाजका संस्कृति र समकालीन चेतनालाई बुझ्ने पाठकका लागि पनि उपयोगी बन्न सक्ने देखिन्छ ।
चन्द्रागिरि साहित्य समाजले यसअघि २०७७ सालमा कवि भीमनारायण श्रेष्ठको भावलहर कविता संग्रह, २०८१ मा कवि राजेन्द्र श्रेष्ठको आइ पो हाल्छ कि कविता संग्रह तथा १७ जना लेखकहरुको अनुसन्धानात्मक कृति चन्द्रागिरि अनुशीलन–२०८१ प्रकाशन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?