चन्द्रागिरिका खाद्यान्न पसलमा अनुगमन, अधिकांश पसलमा म्याद गुज्रिएका सामान भेटिए
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले १४ र १५ वडामा रहेका खाद्यन्न पसलमा अनुगमन गर्दा अधिकांशमा म्याद गुज्रिएका सामान भेटिएको छ । ठूला मार्टदेखि साना किराना पसलसम्म गरिएको अनुगमनका क्रममा केही पसल दर्ताबिनै संचालनमा रहेकोसमेत पाइएको छ ।
अनुगमन टोलीले खाद्यान्न सामग्रीको गुणस्तर, म्याद सकिएको नसकिएको, पसल दर्ता, नवीकरणका कागजात तथा ढक–तराजुको नापतौल जाँच गरेको थियो । अधिकांश पसलमा म्याद सकिएका खाद्यवस्तु भेटिएपछि त्यस्ता सामान जफत गर्दै व्यवसायीलाई चेतावनी समेत दिइएको थियो ।
अनुगमनमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी, नगरपालिका कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाले नियमित अनुगमनलाई नै निरन्तरता दिंदै बजार अनुगमन गरेको र चाँडबाँड नजिकिदै जाँदा अझ अनुगमनलाई तीब्रता दिइने बताउनु भयो । उहाँले अनुगमन मात्रै उपभोक्ता सुरक्षाको पर्याप्त उपाय नभएको भन्दै सामान किन्दा उत्पादन र म्याद सकिने मिति हेर्ने, प्याकेट बिग्रिएको वा शंकास्पद वस्तु नकिन्ने र बिल माग्ने बानी उपभोक्ताले पनि बसाल्न जरुरी रहेको बताउनु भयो ।
उपप्रमुख श्रेष्ठले म्याद गुज्रिएको सामान बिक्रीका लागि राखिएको भेटिनु व्यापारीको मात्र कमजोरी नभई उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले ‘सरकारले हेर्ला’ भनेर पर्खनुभन्दा आफूले किन्न लागेको सामान आफैं जाँच्ने बानी नै सुरक्षित बजारको पहिलो आधार भएको दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?