बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र, क्षतिग्रस्त खण्डमा काम जारी
काठमाडौं । बाढी र पहिरोबाट क्षतिग्रस्त कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत तथा पुनःनिर्माणको काम तीव्र पारिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दी हुँदै चीनको कोरला नाकासम्म पुग्ने करिब २०२ किलोमिटर सडक बाढीपहिरोले विभिन्न स्थानमा क्षतिग्रस्त भएको थियो । कालीगण्डकीको कटान, पहिरो र सडक भासिएपछि केही स्थानमा यातायात पूर्णरूपमा प्रभावित भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाले क्षतिग्रस्तमध्ये अधिकांश स्थानमा मर्मत भइसकेको जनाएको छ । बाँकी रहेका प्रमुख कटान तथा पहिरो प्रभावित खण्डमा सडक खुलाउने काम जारी छ । कुनौटा, तिल्केनीचौर, खामभित्ता, भुरुङ–तातोपानी, रातोपानी र भिरकाटेलगायत क्षेत्रमा सडक मर्मत तथा नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ ।
कुनौटा क्षेत्रमा कालीगण्डकी नदीले सडकको ठूलो भाग कटान गरेपछि मर्मतमा चुनौती थपिएको छ । त्यहाँ आवश्यक निर्माण सामग्री र इन्धन पुर्याउनसमेत कठिनाइ भएपछि नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोग लिइएको आयोजनाले जनाएको छ । ड्रोनमार्फत इन्धन पुर्याएपछि माथिल्लो क्षेत्रमा मर्मतको काम अघि बढाउन सहज भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र रातोपानी क्षेत्रमा पनि सडकको नयाँ ट्र्याक खोल्ने तथा पुलको पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको छ । सडक विभाग र निर्माण व्यवसायीका मेसिन तथा जनशक्ति परिचालन गरी प्रभावित स्थानमा समानान्तर रूपमा काम अघि बढाइएको छ ।
पछिल्लो विवरणअनुसार घाँसा–कोरला खण्डमा दुईतर्फी यातायात संचालनमा आएको छ भने तातोपानी क्षेत्रमा समेत क्षतिग्रस्त भागको मर्मतपछि सवारी आवागमन सुरु भएको छ । तर केही स्थानमा सडक पूर्णरूपमा क्षतिग्रस्त भएकाले नियमित यातायात संचालन गर्न अझै समय लाग्ने देखिएको छ ।
कोरला नाका चीनसँगको व्यापार तथा आवागमनका लागि महत्वपूर्ण भएकाले सडक छिटो संचालनमा ल्याउन दबाब बढेको छ । मुस्ताङमा स्याउ बजार पठाउने समय सुरु हुनुका साथै दसैं–तिहारका लागि भेडाच्याङ्ग्रा ओसारपसार र पर्यटकीय गतिविधि बढ्ने समय भएकाले सडक संचालनलाई प्राथमिकता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?