काठमाडौं । धान पाक्ने समय नजिकिँदै गर्दा बाँकेका केही क्षेत्रमा बालीमा रोगको समस्या देखिएपछि किसान चिन्तित भएका छन् । खेतमा धानका बोट सुक्न थालेपछि यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरेका किसानहरु थप चिन्तित देखिएका हुन् ।
डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले धानका पातमा साना खैरो तथा हरियो रङका पानीले भिजेजस्ता दाग देखिन थालेको बताएका छन् ।
बाली भित्र्याउने समयमा धानमा रोग देखिएपछि उत्पादनमा असर पर्ने चिन्तामा किसानहरु छन् । किसानहरुले स्थानीय तहका कृषि शाखालाई समस्याबारे जानकारी गराउँदा पनि प्रभावकारी रोकथामको पहल हुन नसकेको भन्दै गुनासो समेत पोखेका छन् ।
कृषि ज्ञान केन्द्र, बाँकेकी सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जिल्लाका केही धानखेतमा रोगको समस्या देखिएको जानकारी आएको बताउनुभयो । यद्यपि रोगबाट भएको वास्तविक क्षतिको विवरण भने अझै यकिन भइनसकेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहका कृषि शाखामार्फत प्रभावित क्षेत्र र क्षतिको अवस्थाबारे विवरण संकलन भइरहेको र प्राप्त तथ्यका आधारमा आवश्यक व्यवस्थापन तथा रोकथामका उपाय अघि बढाइएको जानकारी दिनुभयो ।
बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमीनमध्ये करिब ३३ हजार ५ सय ७० हेक्टरमा धानखेती हुने गरेको छ । चालु वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?