केन्द्रदेखि स्थानीय तहसम्म हाँकेका नेतृत्वलाई चुनौति दिंदै यूवा पुस्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर–१० बाट निर्वाचित महाधिवेशन प्रतिनिधिको मतपरिणामले अनुभवी नेतासँगै नयाँ पुस्ताका उम्मेदवारले पनि कार्यकर्तामाझ उल्लेख्य समर्थन हासिल गर्न थालेको देखाएको छ । विशेषगरी खुला समूहमा युवा नेता ईश्वर लामाले प्राप्त गरेको मतले क्षेत्रीय राजनीतिमा पुस्तागत प्रतिनिधित्वको बहसलाई थप बल दिएको छ ।
खुला समूहमा २२ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा लामाले ४९२ मत प्राप्त गर्दै सबैभन्दा बढी मत पाएका छन् । तीन पटक काठमाडौं–१० बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका तथा पूर्वमन्त्री राजेन्द्रकुमार केसी ‘राजन’ले ४२२ मत प्राप्त गरेका छन् । अर्थात् खुला समूहमा लामाले केसीभन्दा ७० मत बढी पाएका छन् ।
यो मतान्तरको संख्याका हिसाबले ठूलो नदेखिए पनि राजनीतिक सन्दर्भमा भने अर्थपूर्ण देखिएको छ । लामो समयदेखि क्षेत्रीय राजनीतिमा स्थापित रहेका पूर्वसांसद तथा पूर्वमन्त्री केसीको तुलनामा नयाँ पुस्ताका उम्मेदवारले बढी मत पाउनु नेतृत्व चयनमा पुस्तागत प्रतिनिधित्वको विषय पनि कार्यकर्ताको प्राथमिकतामा पर्न थालेको संकेतका रूपमा हेर्न सकिन्छ ।
क्षेत्र नम्बर १० को परिणाममा नयाँ र स्थापित पुस्ताबीचको अन्तर खुला समूहमा मात्रै सीमित देखिँदैन । आदिवासी जनजाति समानुपातिकतर्फ पूर्वमन्त्री पुकार महर्जनले ३४७, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ३४९, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले २७७ र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले ३६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी युवा महिला समूहमा एलिना महर्जनले ५०० मत प्राप्त गरेकी छन् । खुला समूहका ईश्वर लामाको ४९२ मतसँगै एलिनाको ५०० मतले क्षेत्र नम्बर १० मा नयाँ पुस्ताका उम्मेदवारले विभिन्न समूहबाट उल्लेख्य मत प्राप्त गरेको देखाउँछ ।
विशेषगरी खुला समूहको परिणामले भने तुलना गर्ने स्पष्ट आधार दिएको छ । एकातिर तीन पटक प्रतिनिधिसभा सदस्य भइसकेका र पूर्वमन्त्री केसी छन् भने अर्कोतिर युवा नेता लामाले ७० मतको अग्रता कायम गरेका छन् । यसलाई केवल व्यक्तिगत प्रतिस्पर्धाको परिणामभन्दा बाहिर हेर्दा, स्थापित राजनीतिक अनुहारसँगै नयाँ पुस्ताका उम्मेदवारलाई पनि प्रतिनिधि छनोटमा स्थान दिने देखिएको छ ।
काठमाडौं–१० मा प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रअन्तर्गत विभिन्न क्लस्टरबाट आएको मतपरिणामले नेतृत्वको बहसलाई पनि फराकिलो बनाएको छ । पुरानो राजनीतिक अनुभव भएका उम्मेदवार र नयाँ पुस्ताका प्रतिनिधिबीच एउटै निर्वाचन प्रक्रियामा देखिएको मत प्रतिस्पर्धाले अब नेतृत्वमा अनुभव र पुस्तागत परिवर्तन दुवैलाई कसरी सन्तुलन गर्ने भन्ने प्रश्नलाई अगाडि ल्याएको छ । ईश्वर लामाको ४९२ र राजेन्द्रकुमार केसीको ४२२ मतबीचको ७० मतको अन्तर तथा एलिना महर्जनको ५०० मतले नयाँ पुस्ताका उम्मेदवारले स्थापित राजनीतिक अनुहारकै बीचबाट प्रतिस्पर्धी उपस्थिति बनाउन थालेको तथ्य भने स्पष्ट देखाउँछ ।
यसले काठमाडौं–१० को कांग्रेसभित्र आगामी नेतृत्व र संगठन निर्माणमा पुस्तागत प्रतिनिधित्वको विषय थप महत्वपूर्ण बन्न सक्ने आधार तयार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?