चुनदेवीको कक्षाकोठादेखि कांग्रेसको केन्द्रीय नेतृत्वसम्म : चन्द्रागिरिका मेयर घनश्याम गिरीको राजनीतिक दौड
काठमाडौं । थानकोटको चुनदेवी माध्यमिक विद्यालयको कक्षाकोठाबाट सुरु भएको घनश्याम गिरीको सार्वजनिक जीवन अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको दौडसम्म आइपुगेको छ। कांग्रेसको जारी १५औँ महाधिवेशनमा चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
शिक्षक हुँदै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका गिरीले त्यसपछि सक्रिय राजनीतिलाई आफ्नो कर्मभूमि बनाए । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट चन्द्रागिरि नगरपालिकाको नगरप्रमुखमा लगातार निर्वाचित भएपछि स्थानीय तहमा उनको राजनीतिक प्रभाव थप स्थापित भयो। दुई कार्यकाल नगरको नेतृत्व सम्हालिरहेका गिरी अब स्थानीय राजनीतिमा हासिल गरेको अनुभवलाई पार्टीको केन्द्रीय संगठनमा विस्तार गर्ने लक्ष्यसहित महाधिवेशनको मैदानमा उत्रिएका छन् ।
शिक्षण पेशाले उनलाई समुदायसँग जोडिन सिकायो भने स्थानीय सरकारको नेतृत्वले विकास, प्रशासन र जनअपेक्षासँग प्रत्यक्ष काम गर्ने अवसर दियो । यही अनुभवलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका गिरीको केन्द्रीय सदस्य पदको उम्मेदवारीलाई स्थानीय तहको नेतृत्वबाट पार्टीको राष्ट्रिय संगठनतर्फको स्वाभाविक राजनीतिक छलाङका रूपमा हेरिएको छ ।
गिरीको उम्मेदवारीसँगै चन्द्रागिरिको कांग्रेस वृत्तमा पनि महाधिवेशनको चासो बढेको छ । यही महाधिवेशनमा चन्द्रागिरि नगरपालिकाकी अस्मिता बयलकोटीले युवा महिला, ३५ वर्षमुनिबाट बागमती प्रदेशतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। चन्द्रागिरिबाट दुई फरक पुस्ताका नेताको केन्द्रीय सदस्यमा दाबीले स्थानीय कांग्रेसमा नयाँ राजनीतिक सन्देशसमेत दिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २२ गते मतदान हुँदैछ । नयाँ विधानअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएपछि उपसभापतिको संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु¥याइएको छ भने एक महिला महामन्त्री अनिवार्य गरिएको छ। दुई खुला सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको छ । पार्टीले प्रवक्ता पदसमेत थप गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?