राजन केसीलाई पछि पार्दै चन्द्रागिरिका ईश्वर लामा काठमाडौं–१० मा सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं। १० बाट ईश्वर लामा खुलातर्फ सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। लामाले ४९२ मत प्राप्त गरेका छन्।
काठमाडौं–१० बाट महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा लामाले नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य राजन केसी तथा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका बहालवाला नगरप्रमुख एवं पूर्व प्रदेशमन्त्री पुकार महर्जनलगायतका उम्मेदवारलाई पछि पार्दै खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरेका हुन्।
काठमाडौं–१० बाट कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न समूह तथा समावेशी क्लस्टरबाट २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। तीमध्ये खुलातर्फ लामाले प्राप्त गरेको ४९२ मत सबैभन्दा बढी हो।
लामाको निर्वाचन परिणाम कांग्रेसको क्षेत्रीय संगठनमा युवा पुस्ताको उपस्थितिका दृष्टिले समेत उल्लेखनीय मानिएको छ। लामाले युवाको सोच, ऊर्जा र सिर्जनशीलतालाई सकारात्मक परिवर्तनसँग जोड्दै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि लामाले आफूलाई प्राप्त मतलाई जिम्मेवारीका रूपमा लिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउन काम गर्ने बताएका छन्। युवालाई पार्टीको संगठनात्मक गतिविधि र नेतृत्व प्रक्रियामा थप सक्रिय रूपमा जोड्ने तथा कार्यकर्तासँगको सम्बन्धलाई मजबुत बनाउने उनको भनाइ छ।
काठमाडौं–१० को निर्वाचन परिणाममा सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका लामाको आगामी भूमिका भने अब पार्टीको १५औँ महाधिवेशनसँगै थप स्पष्ट हुने देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?