भोटेकोशी बाढीमा बेपत्ता चन्द्रागिरिकी सुष्मिताको अन्त्येष्टि
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकी चन्द्रागिरि नगरपालिका–७ की सुष्मिता कुँवरको हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्न रसुवा पुगेकी कुँवर भोटेकोशी नदीमा एक्कासी आएको बाढीको भेलमा परी बेपत्ता भएकी थिइन् । बाढीपछि परिवारजन तथा सम्बन्धित पक्षले उनको खोजी गरे पनि लामो समयसम्म शव फेला नपरेपछि चन्द्रागिरि नगरपालिका–७ स्थित त्रिवेणी घाटमा शनिबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।
बाढीमा बेपत्ता भएको लामो समयसम्म पनि आफन्तको अवस्थाबारे यकिन हुन नसक्दा परिवारजनले अन्ततः धार्मिक विधिअनुसार अन्त्येष्टि गरेका थिए । कुँवरको अन्त्येष्टिमा आफन्त तथा स्थानीयको उपस्थिति रहेको थियो ।
भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै धेरै मानिसहरु बेपत्ता भएका छन् । बाढीमा बेपत्ता भएकामध्ये सुष्मिताको शव पनि नभेटिएपछि परिवारले कुशलाई प्रतीकात्मक शवका रूपमा मानी अन्तिम संस्कार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?