कांग्रेस काठमाडौं–१० (ख) मा विवाद, प्रदेश सचिवले गरे कार्यक्रम बहिष्कार
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. १० प्रदेशसभा (ख) ले आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम विवादमा परेको छ । पार्टीको अधिवेशनमा पराजित भएका नेता तथा कार्यकर्तालाई कार्यक्रममा सहभागी नगराउने विषय सार्वजनिक भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।
कार्यक्रममा अधिवेशनमा विजयी भएका व्यक्तिहरूलाई मात्र सहभागी गराउने भनिएको विषयप्रति नेपाली कांग्रेस प्रदेशसभा (ख) का सचिव श्यामकृष्ण मानन्धरले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो निर्णयप्रति आपत्ति जनाउँदै कार्यक्रम नै बहिष्कार गर्ने घोषणा गरेका छन् ।
विजयी भएका व्यक्तिहरूलाई मात्र सहभागी गराउने र पराजित भएका नेता–कार्यकर्तालाई बाहिर राख्ने सोच आफूलाई स्वीकार्य नभएको मानन्धरको भनाइ छ । पार्टीभित्र सबैलाई समान व्यवहार गर्दै एकताबद्ध बनाएर अघि बढ्नुपर्ने समयमा निषेध र विभेदको राजनीति गर्न नहुने उनको धारणा छ ।
मानन्धरको बहिष्कार घोषणापछि सामाजिक सञ्जालमा यस विषयले थप चर्चा पाएको छ । कार्यक्रममा सहभागी गराउने निर्णयको जिम्मेवारी प्रदेश सभापतिले लिनुपर्ने भन्दै केहीले नेतृत्वको आलोचना गरेका छन् भने अर्काथरीले पार्टीभित्र निषेधको राजनीति स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् । त्यस्तै, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने समयमा नेता तथा कार्यकर्ताबीच विभेदपूर्ण व्यवहार गर्नु उचित नभएको भन्दै कतिपयले निर्णयको भत्र्सनासमेत गरेका छन् ।
यस घटनाले नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकादेखि क्षेत्र, प्रदेश र जिल्ला तहसम्मको राजनीतिक वृत्तमा चासो बढाएको छ । शुभकामना आदान–प्रदानजस्तो आपसी सद्भाव र एकताको सन्देश दिने कार्यक्रम नै आन्तरिक विवादको विषय बनेपछि कांग्रेसभित्रको गुटगत तथा आन्तरिक सम्बन्धबारे पनि बहस सुरु भएको छ ।
पार्टीका नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने कि अधिवेशनको परिणामका आधारमा सहभागीता सीमित गर्ने भन्ने प्रश्न अहिले कांग्रेसको स्थानीय राजनीतिमा चर्चाको विषय बनेको छ ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. १० प्रदेश (ख) ले कात्तिक १४ गते शनिबार (भोलि) चन्द्रागिरि–५ स्थित त्रिशक्ति बैंक्वेटमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?