सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु, तीन जना घाइते
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीले दुर्घटनामा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको जनाएको छ । उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी तथा भारतीय मूलका न्युजिल्यान्ड नागरिक ४९ वर्षीय सेलिसकिसन पटेल घाइते भएका छन् । उनीहरूलाई प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।
प्रहरीले आज बिहान करिब ८ बजेर १० मिनेटमा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?