काठमाडौं । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व कात्तिक २० गते शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको विज्ञप्तिअनुसार तिहारका विभिन्न पर्व तथा पूजाको मिति र साइत निर्धारण गरिएको हो।
समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) तथा यमदीपदानबाट यस वर्षको तिहार सुरु हुनेछ।
त्यस्तै, कात्तिक २१ गते शनिबार काग तिहार (काकबलि) तथा धन्वन्तरि जयन्ती मनाइनेछ। कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि परेको छ।
कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्द्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ को नयाँ वर्षसमेत प्रारम्भ हुनेछ।
यसैगरी, तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइने समितिले जनाएको छ।
समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिने व्यवस्था मिलाउन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा तिहारका पर्व तथा पूजासम्बन्धी मिति र समय सार्वजनिक गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?