काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठ पर्वलगायत नेपालीका विभिन्न महान् चाडपर्वको अवसरमा चन्द्रागिरिमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी, चन्द्रागिरि नगर कार्य संयोजक समितिको आयोजनामा यही कात्तिक २१ गते शनिबार बिहान ७ बजे चन्द्रागिरि नगरपालिका–५, किसिपिडी लाछिमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । राष्ट्रिय जागरण अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने तथा विभिन्न चाडपर्वका अवसरमा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेकपा चन्द्रागिरि नगर कार्य संयोजक समितिले उक्त कार्यक्रममा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा चन्द्रागिरिवासीहरूलाई सहभागिताका लागि हार्दिक अपिल समेत गरेको छ । राष्ट्रिय जागरण अभियानलाई थप प्रभावकारी बनाउँदै चाडपर्वको खुसी, आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्न कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबैको सक्रिय उपस्थिति र सहयोगको अपेक्षा आयोजकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?