बाढीमा बेपत्ता नगरवासीको विवरण संकलन गर्दै चन्द्रागिरि नगरपालिका
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बाढीमा परी बेपत्ता भएका नगरवासीको आधिकारिक विवरण संकलन गर्न सम्बन्धित परिवारलाई वडा कार्यालयमा निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ साल वैशाख १० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका चन्द्रागिरि नगरपालिकाका स्थायी ठेगाना भएका व्यक्तिहरूको विवरण संकलन गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीका अनुसार बेपत्ता व्यक्तिका परिवारका सदस्यले आफ्नो सम्बन्धित वडा कार्यालयमा सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र निवेदन पेस गर्नुपर्नेछ ।
निवेदनसँगै बेपत्ता व्यक्तिको परिचय खुल्ने कागजातको प्रतिलिपि, बेपत्ता व्यक्तिसँगको नाता प्रमाणित हुने कागजात, स्वघोषणा तथा निवेदकको नाम, ठेगाना र सम्पर्क नम्बर पेस गर्नुपर्नेछ । परिचय खुल्ने कागजातका रूपमा नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात पेस गर्न सकिनेछ । सम्भव भएसम्म बेपत्ता व्यक्तिको फोटोसमेत उपलब्ध गराउन आग्रह गरिएको छ ।
बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण व्यवस्थित रूपमा संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने उद्देश्यले सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले जानकारी दिनुभएको छ । नेपालीले सम्बन्धित परिवारलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन आग्रह समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?