चन्द्रागिरिमा तेस्रो अन्तर वडाकप फुटबल प्रतियोगिता कात्तिक २८ देखि
काठमाडौं । खेलकुदमार्फत एकता, मित्रता र प्रतिभाको सम्मान गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिकामा तेस्रो चन्द्रागिरि अन्तर वडाकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रागिरि अन्तर वडाकप फुटबल प्रतियोगिता समितिको आयोजनामा हुने प्रतियोगिता आगामी कात्तिक २८ गते शनिबारदेखि सुरु हुनेछ ।
चन्द्रागिरि नगरपालिका–१४, नयाँ नैकापमा संचालन हुने प्रतियोगितामा विभिन्न वडाका फुटबल टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा र नगरस्तरीय एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
आयोजकले प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गर्दैछ । प्रतियोगिताको प्रथम पुरस्कारस्वरूप नगद दुई लाख ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टोलीले एक लाख १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा अनुशासित टोलीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
स्थानीय खेलकुदको विकास, युवाको सक्रिय सहभागिता र फुटबल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तर वडाकपले चन्द्रागिरिको खेलकुद गतिविधिलाई थप उत्साहजनक बनाउने विश्वास आयोजकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?