एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
आजको पहिलो खेलमा विराटनगर र जनकपुर दिउँसो साढे १२ बजे भिड्नेछन् । जारी प्रतियोगितामा तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार व्यहोरेको छ । विराटनगर चितवन र कर्णालीसँग पराजित भएको थियो भने सुदूरपश्चिमलाई हराउन सफल भएको थियो ।
यता जनकपुरले पनि तीन खेल खेलिसकेको छ । दुई खेलमा जित निकालेको जनकपुर एक खेलमा पराजित भएको छ । पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई पराजित गरेको थियो ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दिउँसो साढे ४ बजे प्रतिस्पर्धा हुनेछ । दुई खेल खेलेको लुम्बिनीले एक जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो। प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो। चितवनसँगको दोस्रो खेल भने वर्षाका कारण पूरा हुन सकेन ।
पोखरा एभेन्जर्सले भने अहिलेसम्म जितको खाता खोल्न सकेको छैन । दुई खेल खेलेको पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो । लगातार दुई हार बेहोरेको पोखरा आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ भने लुम्बिनी पनि जितलाई निरन्तरता दिने योजनासहित मैदान उत्रनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?