एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै, पोखरालाई खाता खोल्ने अवसर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
आजको खेलमा जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रँदा पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हालिरहेका छन् ।
प्रतियोगितामा जनकपुरले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको छ । कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौं गोर्खाजलाई हराउँदै पहिलो जित दर्ता गरेको थियो । उता, पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । त्यसैले आजको खेल पोखराका लागि जितको खाता खोल्ने अवसरसमेत हुनेछ ।
दुवै टोलीबीचको विगतको प्रतिस्पर्धा भने बराबरीको अवस्थामा छ । एनपीएलका अघिल्ला दुई संस्करणमा भएका भेटमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०२५ को संस्करणमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको थियो भने सन् २०२४ मा जनकपुरले सात विकेटले पोखरालाई हराएको थियो ।
अघिल्ला भेटमा दुवै टोलीले एक–एक जित निकालेकाले आजको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ । जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखरा पहिलो जितसँगै प्रतियोगितामा बलियो पुनरागमन गर्ने योजनामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?