‘पाँच पाण्डव’ चलचित्रप्रति विश्व हिन्दू परिषद्को आपत्ति, छानबिन र सुधारको माग
काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’ मा महाभारतका श्रद्धेय पात्रहरूको प्रस्तुतीकरणले धार्मिक आस्था र सांस्कृतिक मर्यादामा असर पुर्याउन सक्ने भन्दै विश्व हिन्दू परिषद् नेपालले आपत्ति जनाएको छ । परिषद्ले चलचित्रका विवादित दृश्य, संवाद तथा प्रचार सामग्रीमाथि निष्पक्ष छानबिन गरी आवश्यक सुधार गर्न चलचित्र विकास बोर्डसँग माग गरेको छ ।
परिषद्ले चलचित्र विकास बोर्डलाई औपचारिक ध्यानाकर्षणपत्र बुझाउँदै चलचित्रका सार्वजनिक गीत, दृश्य, संवाद र प्रचार सामग्रीको अध्ययन तथा परीक्षण गर्न आग्रह गरेको हो । महाभारत हिन्दू सभ्यता, संस्कृति र आध्यात्मिक चेतनाको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्दै परिषद्ले भगवान् श्रीकृष्ण, पाण्डव तथा माता द्रौपदीजस्ता पात्रहरू करोडौँ हिन्दू धर्मावलम्बीको आस्था र आदर्शसँग जोडिएको जनाएको छ ।
परिषद्ले चलचित्रमा प्रस्तुत केही दृश्य तथा गीतले महाभारतका पात्रहरूको धार्मिक, सांस्कृतिक र नैतिक गरिमामा असर पुर्याउन सक्ने तथा धार्मिक भावनामा चोट पुग्ने अवस्था सिर्जना गरेको छ । सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्नुपर्ने भएपनि त्यसका नाममा धार्मिक आस्था र सांस्कृतिक मर्यादालाई बेवास्ता गर्न नहुने परिषद्को धारणा छ ।
परिषद्ले चलचित्रको प्रदर्शनअघि सम्पूर्ण सामग्रीको समीक्षा गर्न, आपत्तिजनक दृश्य तथा संवाद हटाउन वा संशोधन गर्न, निर्माता तथा निर्देशकसँग स्पष्टीकरण लिन र आवश्यक सुधार नभए प्रचलित कानुनअनुसार प्रदर्शन अनुमतिबारे निर्णय गर्न बोर्डसमक्ष आग्रह गरेको छ । भविष्यमा धार्मिक तथा ऐतिहासिक पात्रहरूको प्रस्तुतीकरण गर्दा आस्था र सांस्कृतिक संवेदनशीलताको सम्मान सुनिश्चित गर्नसमेत माग गरिएको छ ।
माग सम्बोधन नभए देशव्यापी शान्तिपूर्ण विरोध तथा चलचित्र बहिष्कार अभियान संचालन गर्ने परिषद्ले चेतावनी दिएको छ । आवश्यक परे कानुनी तथा संवैधानिक उपाय अपनाउने उल्लेख गर्दै परिषद्ले सम्बन्धित निकायबाट छानबिन र निर्णयको लिखित जानकारीसमेत माग गरेको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको पक्षमा रहेको बताउँदै परिषद्ले चलचित्र निर्माणमा सिर्जनात्मक स्वतन्त्रतासँगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक मर्यादा कायम हुनुपर्नेमा जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?