आनन्द त्याग्ने होइन, त्यसको बाटो बदल्ने हो !
नशा त्याग्नु भनेको जीवनका सुख त्याग्नु होइन, आफूलाई हानि पुर्याउने माध्यमबाट टाढिएर स्वस्थ जीवनशैली रोज्नु हो । नशाले चेतना धमिल्याउन सक्छ; आध्यात्मिक अभ्यासले त्यसलाई स्पष्ट बनाउन सक्छ ।
मानिस नशा किन गर्छ ? तनाव बिर्सन, मन हलुका बनाउन, साथीभाइसँग रमाउन वा केही क्षण आफूलाई स्वतन्त्र महसुस गर्न । कारण फरक हुन सक्छन्, तर कतिपय अवस्थामा यसको केन्द्रमा एउटै चाहना हुन्छ आनन्दको अनुभूति । रोचक कुरा के छ भने आध्यात्मिक यात्रामा निस्किएको मानिस पनि शान्ति, प्रेम, स्वतन्त्रता र आत्मसन्तुष्टिकै खोजीमा हुन्छ । एउटा बाहिरी पदार्थको सहाराले आफ्नो मनोदशा बदल्न खोज्छ, अर्को आफ्नै चेतना बुझेर जीवनको गहिराइमा पुग्न चाहन्छ । यसले एउटा महत्त्वपूर्ण प्रश्न जन्माउँछ मानिसलाई नशातर्फ तान्ने आनन्दको खोजलाई आध्यात्मिक अनुभूतिको दिशातर्फ मोड्न सकिँदैन र ? नशाको समस्यालाई बुझ्ने र समाधान खोज्ने हाम्रो दृष्टिकोण यहीँबाट बदलिन सक्छ ।
चाहना स्वाभाविक, माध्यममाथि प्रश्न
नशा गर्ने व्यक्तिलाई गलत ठहर्याउनु सजिलो छ। तर उसले के खोजिरहेको छ भन्ने बुझ्ने प्रयास कमै हुन्छ । ऊ दैनिक जीवनको एकनासेपनबाट उम्कन, तनाव घटाउन वा केही समय आफ्नो चिन्ता बिर्सन चाहिरहेको हुन सक्छ । यी मानवीय आवश्यकता हुन् । समस्या चाहनामा भन्दा त्यसलाई पूरा गर्ने माध्यममा हुन सक्छ । मादक पदार्थले केही समय मनोदशा बदल्न सक्छ, तर त्यससँग स्वास्थ्यमा हानि, निर्णय क्षमता कमजोर हुने र निर्भरता विकास हुने जोखिम पनि जोडिएको हुन्छ । क्षणिक राहतले जीवनका मूल समस्या समाधान गर्दैन । आध्यात्मिक अभ्यासले भने आफ्ना विचार, भावना र आवेगलाई बुझ्ने अवसर दिन्छ । ध्यान, योग, संगीत, प्रकृतिसँगको निकटता र सेवाभावले मानसिक सन्तुलन तथा आत्मसन्तुष्टि विकास गर्न सहयोग गर्न सक्छन् । नशाले अनुभूति बदल्न सक्छ; आत्मबोधले अनुभूति गर्ने आफूलाई चिन्न सिकाउँछ ।
कसैलाई ‘नशा नगर’ भन्न सजिलो छ । तर नशाबाट टाढा भएपछि उसले तनाव कसरी सम्हाल्ने, समय कसरी बिताउने र सामाजिक सम्बन्धमा कसरी रमाउने भन्ने विकल्प पनि आवश्यक हुन्छ । त्यसैले मानिसलाई खेलकुद, संगीत, ध्यान, योग, सिर्जनात्मक काम, प्रकृतिसँगको सम्बन्ध र आत्मीय सामाजिक गतिविधितर्फ आकर्षित गरौँ । दोषारोपणभन्दा संवाद र अपमानभन्दा सहयोगलाई प्राथमिकता दिऔँ । नशामा निर्भर भइसकेको व्यक्तिका लागि आध्यात्मिक अभ्यास मात्रै पर्याप्त नहुन सक्छ ।
सफल हुन सिक्यौँ, आफूलाई बुझ्न सिक्यौँ ?
हामी बालबालिकालाई पढ्न, कमाउन, प्रतिस्पर्धा गर्न र सफल हुन सिकाउँछौँ । तर, तनाव कसरी सम्हाल्ने, एक्लोपनसँग कसरी जुध्ने र आफ्ना भावनालाई कसरी बुझ्ने भन्ने शिक्षा कति दिन्छौँ ? हामीले जीवनको मूल्यलाई धन, प्रतिष्ठा र बाहिरी उपलब्धिसँग जोड्यौँ । आफ्नो मनको अवस्था बुझ्ने, मौनताको महत्त्व महसुस गर्ने र अरूप्रति करुणाशील हुने अभ्यासलाई भने पर्याप्त महत्त्व दिएनौँ । जब आन्तरिक संसारसँग परिचित हुने अवसर कम हुन्छ, तब मानिसले तत्काल अनुभूति बदल्ने माध्यमलाई नै राहतको सहज उपाय ठान्न सक्छ । यसैले परिवार, विद्यालय र समाजले आध्यात्मिकतालाई केवल धार्मिक कर्मकाण्ड वा कठिन तपस्याका रूपमा होइन, जीवनलाई स्वस्थ, सन्तुलित र अर्थपूर्ण बनाउने अभ्यासका रूपमा चिनाउनुपर्छ । मानिसलाई जीवन चलाउन मात्र होइन, आफूलाई बुझेर जीवन जिउन पनि सिकाउनुपर्छ ।
आध्यात्मिकताः सिक्न सकिने जीवनकला
नशाबाट प्राप्त हुने अनुभूति तत्काल हुन सक्छ । तर मनलाई स्थिर राख्न, आवेग नियन्त्रण गर्न र परिस्थितिलाई स्पष्ट रूपमा बुझ्न अभ्यास आवश्यक हुन्छ । सुरुमा ध्यानमा बस्न कठिन लाग्न सक्छ । तर नियमित अभ्यासले आफ्नो मनमा उठ्ने विचारलाई पहिचान गर्न र तिनको प्रभावबाट केही दूरी बनाउन सहयोग गर्न सक्छ । आध्यात्मिक अभ्यासको बाटो सबैका लागि एउटै हुँदैन । कसैलाई ध्यानले आकर्षित गर्छ, कसैलाई संगीतले, कसैलाई योगले त कसैलाई बगैँचामा बिरुवा हुर्काउँदा वा समाजसेवामा संलग्न हुँदा जीवनको अर्थ अनुभूत हुन्छ । मुख्य कुरा कुनै विशेष अभ्यासको नामभन्दा त्यसले व्यक्तिमा विकास गर्ने जागरूकता, संयम, करुणा र जिम्मेवारी हो । नशाको विकल्प उपदेश होइन, जीवनमै अनुभव गर्न सकिने स्वस्थ अभ्यास हुनुपर्छ ।
मानिसलाई नशाबाट टाढा लैजान उसको सुखको चाहनालाई अस्वीकार गर्नु हुँदैन । बरु त्यो चाहनालाई स्वस्थ, सचेत र अर्थपूर्ण दिशातर्फ मोड्नुपर्छ । आध्यात्मिकता दुःखरहित जीवनको ग्यारेन्टी होइन । यो आफ्ना भावना बुझ्ने, कठिन परिस्थितिसँग जुध्ने र जीवनप्रति जिम्मेवार बन्ने अभ्यास हो । नशा गर्ने व्यक्तिलाई घृणा होइन, सहयोग चाहिन्छ ।
प्रतिबन्ध होइन, रूपान्तरणको बाटो
कसैलाई ‘नशा नगर’ भन्न सजिलो छ । तर नशाबाट टाढा भएपछि उसले तनाव कसरी सम्हाल्ने, समय कसरी बिताउने र सामाजिक सम्बन्धमा कसरी रमाउने भन्ने विकल्प पनि आवश्यक हुन्छ । त्यसैले मानिसलाई खेलकुद, संगीत, ध्यान, योग, सिर्जनात्मक काम, प्रकृतिसँगको सम्बन्ध र आत्मीय सामाजिक गतिविधितर्फ आकर्षित गरौँ । दोषारोपणभन्दा संवाद र अपमानभन्दा सहयोगलाई प्राथमिकता दिऔँ । नशामा निर्भर भइसकेको व्यक्तिका लागि आध्यात्मिक अभ्यास मात्रै पर्याप्त नहुन सक्छ । आवश्यकताअनुसार स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र परिवारको सहयोग महत्त्वपूर्ण हुन्छ । लामो समयदेखि अत्याधिक मदिरा सेवन गर्ने व्यक्तिले अचानक सेवन बन्द गर्दा गम्भीर समस्या आउन सक्ने भएकाले चिकित्सकीय सल्लाह लिनुपर्छ । परिवर्तन एकै दिनमा हुँदैन । आफ्नो जीवनलाई हानि पुर्याइरहेको बाटो पहिचान गरेर आवश्यक सहयोगसहित नयाँ दिशातर्फ अघि बढ्नु नै वास्तविक रूपान्तरण हो ।
मानिसलाई नशा छोड्न मात्र नभनौँ–आफूभित्रको सम्भावना चिन्न र चेतनाको उज्यालोमा जीवन जिउन पनि सिकाऔँ । किनकी आनन्दको वास्तविक उचाई आफूलाई बिर्सनुमा होइन, आफूलाई चिन्नुमा छ ।
संस्कार बदलौँ, उत्सवको अर्थ बदलौँ
हाम्रो समाजमा कतिपय अवस्थामा चाडपर्व, मित्रता र सफलताको उत्सवलाई मदिरासँग जोडिन्छ । तर रमाइलो गर्न नशा अनिवार्य छैन, मित्रता प्रमाणित गर्न मादक पदार्थ आवश्यक छैन । सामूहिक भोजन, नाचगान, खेलकुद, प्रकृति भ्रमण र आत्मीय संवादले पनि उत्सवलाई जीवन्त बनाउन सक्छन् । आफ्नो खुसीले अरूलाई पीडा नदिने, आफ्नो स्वतन्त्रताले अरूको सुरक्षा जोखिममा नपार्ने र आफ्नो व्यवहारप्रति जिम्मेवार हुने संस्कार विकास गर्नु आवश्यक छ । आध्यात्मिकताको सामाजिक महत्त्व पनि यही हो–व्यक्तिगत रूपान्तरणलाई पारिवारिक सद्भाव र सामाजिक कल्याणसँग जोड्नु ।
निष्कर्षः आनन्दको बाटो बदलौँ
मानिसलाई नशाबाट टाढा लैजान उसको सुखको चाहनालाई अस्वीकार गर्नु हुँदैन । बरु त्यो चाहनालाई स्वस्थ, सचेत र अर्थपूर्ण दिशातर्फ मोड्नुपर्छ । आध्यात्मिकता दुःखरहित जीवनको ग्यारेन्टी होइन । यो आफ्ना भावना बुझ्ने, कठिन परिस्थितिसँग जुध्ने र जीवनप्रति जिम्मेवार बन्ने अभ्यास हो । नशा गर्ने व्यक्तिलाई घृणा होइन, सहयोग चाहिन्छ । उसलाई दोषी ठहर्याएर होइन, परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाएर अगाडि बढाउन सकिन्छ । नशा त्याग्नु भनेको जीवनका सुख त्याग्नु होइन; आफूलाई हानि पुर्याउने माध्यमबाट टाढिएर स्वस्थ जीवनशैली रोज्नु हो । नशाले चेतना धमिल्याउन सक्छ, आध्यात्मिक अभ्यासले त्यसलाई स्पष्ट बनाउन सक्छ । आउनुहोस्, नशा नगर्न आग्रह गर्ने अभियानसँगै आत्मबोध, ध्यान, सिर्जना, करुणा र स्वस्थ जीवनशैलीको अभ्यासलाई पनि लोकप्रिय बनाऔँ । मानिसलाई नशा छोड्न मात्र नभनौँ–आफूभित्रको सम्भावना चिन्न र चेतनाको उज्यालोमा जीवन जिउन पनि सिकाऔँ । किनकी आनन्दको वास्तविक उचाई आफूलाई बिर्सनुमा होइन, आफूलाई चिन्नुमा छ ।
लेखक : सामथ्र्य नेपाल प्रा. लि. का अध्यक्ष हुनुहुन्छ ।
adhikarithirprasad@gmail.com
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?