‘सरकार, एउटी आइमाईलाई अपराधी बनाउन समाजलाई धेरै कुरा चाहिँदैन रहेछ । उसको गरिबी काफी छ । उसको जात काफी छ । उसको सुन्दरता काफी छ । उसको एक्लोपन काफी छ ।’
अदालतको त्यो कोठा असाध्यै चिसो थियो, बाहिर असोजको घाम तातेको थियो, अदालतको भ¥याङमुनि चिया बेच्ने बूढाको स्टोभ ध्वाँइध्वाँइ गरिरहेको थियो, चियाको बाफसँग मिसिएको धुलो हावामा तैरिरहेको थियो तर कठघराभित्र उभिएकी मञ्जरीलाई भने जाडो लागेको थियो, सायद शरीरलाई होइन–आत्मालाई ।
उसको अगाडि न्यायाधीश थिए । छेउमा सरकारी वकिल । अर्को कुनामा अनिलका मान्छेहरू । पछाडि केही पत्रकार । भित्तामा टाँगिएको घडी टिक्…टिक्…गरिरहेको थियो, आज मञ्जरीमाथि अभियोग थियो– आफ्नै नवजात शिशुको हत्या, न्यायाधीशले चस्मा माथि सार्दै सोधे– ‘तपाईंमाथि लागेको अभियोग स्वीकार गर्नुहुन्छ ?’ मञ्जरीले धेरैबेर टाउको झुकाइरही, त्यसपछि बिस्तारै मुख उठाई, उसको अनुहारमा न आँसु थियो, न क्रोध । केवल एउटा यस्तो थकान थियो, जसलाई वर्षौंसम्म रोएपछि पनि आँसु सकिँदैन । ‘सरकार’, उसले मधेसी लवजमै भनी, ‘म अपराधी त हइँ… तर अदालतले भन्या अपराधको होइन, कोठा एकाएक शान्त भयो । ‘के भन्न खोज्नुभएको हो ?’ मञ्जरीले कठघराको फलाम समाती । ‘मलाई बच्चा मार्ने मञ्जरी भनेर यहाँ ल्याइयो । तर मेरो बच्चा एकै दिनमा मरेको होइन सरकार । त्यो त धेरै वर्षअघि नै मर्न थालेको थियो ।’ न्यायाधीशको कलम रोकियो ।
मञ्जरी बोल्न थाली, महोत्तरीको एउटा सानो गाउँ थियो, गाउँको छेउमा ठूलो पोखरी, पोखरीको डिलमा पीपलको रूख, पीपलमुनि ढुङ्गाको चौतारो, चौतारोको एक छेउमा मुखियाको घर, अर्कोतिर सुजित रामको टिनले छाएको झुप्रो, सुजित राम–मञ्जरीको बाउ, दलित, गरिब, दिनभर अरूको खेतमा पसिना बगाएर साँझ घर फर्किने मान्छे, उसको सम्पत्ति भनेको दुईवटा लोटा, एउटा पुरानो साइकल, फुसको छानो र तीन छोरी थिए ।
मञ्जरी जेठी, जन्मिँदा आमा खुशी भएकी थिइन्, ‘छोरी हो’, दाईले भनेको थियो, बुढी हजुरआमाले मुख खुम्च्याएर भनेकी थिइन् – ‘छोरी त बोझ हो ।’ तर सुजितले त्यो दिन पहिलोपटक छोरीलाई छातीमा च्यापेर भनेको थियो– ‘बोझ होइन, मेरो भाग हो ।’
गाउँको छेउमा बाँसको बाक्लो झ्याङ थियो, मञ्जरी खेतबाट फर्किँदै थिई, उसले पछाडिबाट आएको आवाज सुनिन् । ‘मञ्जरी !’ ऊ रोकिइन, अर्को आवाज आयो, त्यसपछि बाटो छेकियो, त्यो दिन उसको शरीरमाथि हिंसा भयो, उसले चिच्याई, धेरै चिच्याई, बाँसका पातहरू हल्लिए, चराहरू उडे, उसको नङले माटो कोतर्याे, उसले मानिस बोलाई, देउता बोलाई, आमा बोलाई, बाउ बोलाई तर गाउँलेहरू आएनन् ।
मञ्जरी साँच्चै गाउँको अरू छोरीभन्दा फरक थिई, हरक्क बाँसको तामाजस्तै अग्ली, गहुँगोरो अनुहार, ठूला आँखा, हाँस्दा गालामा सानो खाल्डो तर उसको सुन्दरताभन्दा ठूलो कुरा थियो– उसको जिद्दी, बिहान अरूका घरमा भाँडा माझ्थी, दिउँसो खेतमा रोपाइँ गर्थी, बेलुका किताब खोल्थी, उसको सपना थियो– ‘स्नातक पास गर्छु, मास्टरनी बन्छु, बाउलाई अरूको खेतमा काम गर्न जान दिन्नँ, गाउँका केटाहरू बाटोमा उभिएर हेर्थे, मञ्जरी कसैलाई हेर्दिनथी, उसको संसारमा किताब थियो, बाउ थियो र एउटा सानो सपना थियो तर सपना पनि गरिबको भएपछि गाउँलेले त्यसलाई आफ्नो सम्पत्ति ठान्दैन रहेछ, अनिल मुखियाको नातेदार थियो, भूमिहार परिवार गाउँको सबैभन्दा ठूलो घर, ठूलो आँगन, दुईवटा ट्र्याक्टर, दर्जनौँ बिघा खेत, गाउँमा कसैको बिहे होस्, झगडा होस्, जग्गाको सीमाना होस् – अनिलको बाउको घरमा पुग्नैपथ्र्यो, अनिल पढेको थिएन तर पैसा थियो, पैसासँगै एउटा अजीब किसिमको अधिकारबोध थियो, उसलाई लाग्थ्यो– गाउँमा राम्री केटी देखियो भने त्यो उसको नजरबाट बच्न हुँदैन, मञ्जरी उसको नजरमा परी, पहिले बाटो छेक्यो, मञ्जरीले बाटो बदलिन्, फेरि पोखरीमा पानी लिन जाँदा बोलायो, मञ्जरीले सुनेको नसुन्यै गरिन्, एक दिन उसले भन्यो– ‘मञ्जरी, हम तोहरा बहुत चाहैत छी ।’ मञ्जरीले पहिलोपटक सीधा आँखामा हेरी, ‘चाहना र जबर्जस्ती एउटै कुरा होइन ।’ अनिल हाँस्यो ।
‘हमरा माया नस्वीकार करबू ?’ ‘माया मागेर पाइन्छ । धम्क्याएर होइन ।’ त्यो दिन अनिलको अनुहारमा आएको मुस्कान हरायो त्यसपछि मञ्जरीले उसको आँखामा माया देखिन छाडिन्, देखिन् त केवल स्वामित्वको भोक । त्यो दिउँसो आकाशमा बादल थियो, गाउँको छेउमा बाँसको बाक्लो झ्याङ थियो, मञ्जरी खेतबाट फर्किँदै थिई, उसले पछाडिबाट आएको आवाज सुनिन् । ‘मञ्जरी !’ ऊ रोकिइन, अर्को आवाज आयो, त्यसपछि बाटो छेकियो, त्यो दिन उसको शरीरमाथि हिंसा भयो, उसले चिच्याई, धेरै चिच्याई, बाँसका पातहरू हल्लिए, चराहरू उडे, उसको नङले माटो कोतर्याे, उसले मानिस बोलाई, देउता बोलाई, आमा बोलाई, बाउ बोलाई तर गाउँलेहरू आएनन् ।
केही टाढा उभिएर हेर्नेहरू थिए तर कोही अगाडि आएन सायद सबैलाई थाहा थियो– अनिल को हो, त्यो साँझ मञ्जरी घर फर्किँदा उसको कपडा धुलोले भरिएको थियो, बाउले छोरीको अनुहार हेरे । ‘के भयो ?’ मञ्जरी केही बोलिन, आमाको काखमा टाउको राखेर यति मात्र भनी– ‘बाबा… हमार कोनो दोष नइखे ।’ सुजित रामको हात काँप्यो ऊ गाउँतिर दौडियो तर गाउँले न्याय उसको हातमा थिएन, न्याय मुखियाको चौतारोमा बसिरहेको थियो ।
मुखियाले उल्टै प्रश्न गरे— ‘तँले अनिललाई किन फसाउन खोजिस् ?’ ‘मेरी छोरीलाई बलात्कार भयो ।’ ‘प्रमाण छ ?’ सुजित चुप भयो । ‘तिम्री छोरीले नै केही गरेको हुनुपर्छ ।’ मञ्जरीले त्यो दिन पहिलोपटक बुझी– गरिबको सत्यभन्दा धनीको इज्जत ठूलो हुँदो रहेछ, केही दिनपछि गाउँमा फैसला भयो, दोषी अनिल थिएन, मञ्जरी थिई ।
मुखियाले भन्यो– ‘गाउँको इज्जत बिगार्ने केटीलाई गाउँमा राख्न मिल्दैन ।’ सुजित रामले हात जोड्यो । ‘मुखियाजी, गल्ती के गरेको छ मेरी छोरीले ?’ जवाफ आयो– ‘धनी घरको छोरोमाथि बात लगाएकी छ ।’ मञ्जरीले बाउलाई समातिन् । ‘बाबा, चलू ।’ त्यो रात उनीहरूले गाउँ छोडे, बसपार्कमा बिहानको बस लाग्यो, सुजित रामसँग एउटा झोला थियो, मञ्जरीसँग केही किताब, आमासँग पुरानो कपडाको पोको, बस छुट्दा मञ्जरीले गाउँतिर हेरी । उसले मनमनै भनिन् – ‘हम तोहरा केही बिगारले रहली र गाउँ ?’ गाउँ चुप थियो, पीपलको रूख चुप थियो, पोखरी चुप थियो, बाँसको झ्याङ चुप थियो, सबैभन्दा ठूलो कुरा– सत्य चुप थियो, काठमाडौंले मञ्जरीलाई स्वागत गरेन, काठमाडौंले उसलाई केवल हेर्याे, पहिले घरमा काम, त्यसपछि होटल, पछि कारखाना, जहाँ गइन्, त्यहाँ उसको शरीर पहिले देखियो, उसको कथा पछि । कसैले भन्यो– ‘राम्री छे ।’ कसैले भन्यो– ‘गाउँबाट आएकी हो ?’ कसैले भन्यो– ‘एक्लै बस्छे ?’ उसले हरेक प्रश्नको पछाडि एउटै भोक देख्न थाली, उसको पढाइ छुट्यो, स्नातकको सपना छुट्यो, मास्टरनी बन्ने सपना छुट्यो, बाँकी रह्यो– जिउनुपर्ने बाध्यता, एकपटक उसको पेटमा बच्चा आयो, उसले पेट समातेर धेरैबेर रोई, ‘यो बच्चाको के दोष ?’ तर समाजले फेरि उसलाई विकल्प दिएन, औषधि, डर, धम्की, लुकिछिपी अस्पताल, त्यसपछि रगत, त्यसपछि खाली पेट, त्यसपछि खाली काख, फेरि अर्को गर्भ, फेरि त्यही कथा, कसैले सोधेन– ‘मञ्जरी, तिमी के चाहन्छौ ?’ सबैलाई उसको शरीरबारे निर्णय गर्न थियो, उसको जीवनबारे होइन, अदालतमा सरकारी वकिलले फाइल पल्टायो, ‘मञ्जरीले आफ्नै बच्चाको हत्या गरेकी हुन् । नवजात शिशु मृत अवस्थामा भेटिएको थियो ।’ मञ्जरीले वकिलतिर हेरी, ‘हुजुर, एउटा कुरा सोधूँ ?’
‘के ?’
‘बच्चा जन्माउने बेलामा मसँग को थियो ?’ वकिल चुप, ‘म अस्पतालको बेडमा एक्लै थिएँ ।’ उसले फेरि न्यायाधीशतिर हेरी । ‘बच्चा जन्मेपछि उसलाई काखमा राखेर मैले पहिलोपटक के भनेकी थिएँ, थाहा छ ?’ कोठा शान्त । ‘मैले भनेकी थिएँ– ‘बाबु, तिमीलाई म जस्तो जिन्दगी नहोस् ।’ उसको स्वर फुट्यो ।
‘सरकार, त्यो रात मैले बच्चा मारेँ कि समाजले मलाई यति वर्षसम्म मार्दै आयो – यो फैसला तपाईंले गर्नुस् ।’ न्यायाधीशले टाउको उठाए । मञ्जरीको आँखा अब रातो थिएन । त्यहाँ आँसु सकिएको थियो । ‘मेरो पहिलो अपराध के थियो ?’ उसले आफैँ प्रश्न गरी । ‘म दलितको छोरी थिएँ ।’
‘तर सरकार… त्यो बच्चा जन्मिएपछि तीन दिनसम्म मैले दूध दिन खोजेँ । मेरो शरीरमा दूध नै आएन । मसँग औषधि किन्ने पैसा थिएन । घरधनीले कोठाबाट निकाल्ने धम्की दिइरहेको थियो । कामबाट निकालिएको थिएँ । बच्चा रातभर रोइरहन्थ्यो ।’ उसले कठघराको फलाम समाती । ‘चौथो रात… बच्चा रोइरह्यो ।’ मञ्जरीको ओठ काँप्यो । ‘म पनि रोइरहेकी थिएँ ।’ ‘मलाई कसैले बचाएन ।’ ‘मलाई कसैले छोएन ।’ ‘मलाई कसैले आमा भनेर हेरेन ।’ त्यसपछि उसले बिस्तारै भनिन् – ‘सरकार, त्यो रात मैले बच्चा मारेँ कि समाजले मलाई यति वर्षसम्म मार्दै आयो – यो फैसला तपाईंले गर्नुस् ।’ न्यायाधीशले टाउको उठाए । मञ्जरीको आँखा अब रातो थिएन । त्यहाँ आँसु सकिएको थियो । ‘मेरो पहिलो अपराध के थियो ?’ उसले आफैँ प्रश्न गरी । ‘म दलितको छोरी थिएँ ।’
‘दोस्रो ?’ ’म गरिब थिएँ ।’ ‘तेस्रो ?’ ‘म राम्री थिएँ ।’ ‘चौथो ?’ ’मैले धनीको छोरोको इच्छा मानिनँ ।’ ‘पाँचौँ?’ ‘ममाथि बलात्कार भयो ।’ उसले केही क्षण रोकिएर भनिन् – ‘तर सजाय मलाई भयो ।’ अदालत निःशब्द थियो ।
‘गाउँबाट निकालियो मलाई ।’ ‘शहरमा आएँ । मलाई फेरि शरीर बनाएर बेच्न खोजियो ।’ ‘गर्भ बस्यो – दोष मलाई ।’ ‘गर्भ फालियो– दोष मलाई ।’ ‘बच्चा जन्मियो–दोष मलाई ।’ ‘बच्चा मर्यो–अपराधी पनि म ।’
उसले अदालततिर सीधा हेरी । ‘सरकार, एउटी आइमाईलाई अपराधी बनाउन समाजलाई धेरै कुरा चाहिँदैन रहेछ । उसको गरिबी काफी छ । उसको जात काफी छ । उसको सुन्दरता काफी छ । उसको एक्लोपन काफी छ ।’ उसले लामो सास फेरी । ‘तर एउटी आइमाईलाई निर्दोष साबित गर्न ?’ मञ्जरी मुस्कुराई, त्यो मुस्कान हाँसो थिएन, त्यो पराजित मान्छेको अन्तिम व्यङ्ग्य थियो । ‘त्यसका लागि उसको पूरा जिन्दगी पनि काफी हुँदैन रहेछ ।’ बाहिर अचानक पानी पर्न थाल्यो, अदालतको झ्यालबाट पानीका थोपा भित्र छिर्न थाले । मञ्जरीले ती थोपा हेरी, उसलाई महोत्तरीको त्यो बाँसको झ्याङ सम्झना भयो, त्यो दिउँसो, त्यो चिच्याहट, त्यो मौन गाउँ, त्यो मुखियाको फैसला, त्यो बस, बाउको काँधमा झुकेको पुरानो झोला र आफ्नै हातमा च्यापेको किताब । उसले मनमनै सोचिन् – किताब पढेर मास्टरनी बन्ने सपना देखेकी मञ्जरी कहाँ हराई ? अदालतको ढोकाबाहिर प्रहरी उभिएको थियो । भित्र न्यायाधीश फैसला लेख्दै थिए तर मञ्जरीलाई अचानक लाग्यो– फैसला आज हुने होइन ।
फैसला त त्यही दिन भएको थियो, जुन दिन बाँसको झ्याङबाट उसको चिच्याहट गाउँसम्म पुगेर पनि कसैले नसुनेझैँ गर्यो । त्यही दिन, जुन दिन मुखियाले अपराधीको घर सोधेर न्यायको तराजु राख्यो, त्यही दिन, जुन दिन बसको झ्यालबाट एउटा केटीले आफ्नो गाउँलाई अन्तिमपटक हेरेर बिदा भई र त्यही दिन, जुन दिन समाजले एउटी बलात्कृत महिलाको काँधमा अपराधको भारी राखेर भन्यो– ‘अब तिमी नै दोषी हौ ।’ मञ्जरीले आँखा बन्द गरी, उसलाई फेरि त्यो बच्चाको अनुहार देखियो, सानो, निष्पाप, आफ्नो, उसको ओठबाट निकै बिस्तारै शब्द निस्कियो– ‘बाबु… हम तोहरा मारल नइखीं ।’ एकछिन रोकिएर उसले भनिन् – ‘हम त तोहरा बचावे चाहत रहली ।’ बाहिर पानी झन् ठूलो भयो, अदालतको आँगनमा पानी जम्न थाल्यो, माटो बग्दै थियो तर मञ्जरीको मनमा एउटा प्रश्न अझै जमेरै थियो– समाजले जब एउटा निर्दोष महिलाको जीवनलाई टुक्राटुक्रा पारेर मार्छ, त्यसको अभियोगी को हो ? कठघरामा मञ्जरी उभिरही, फैसला आउन बाँकी थियो तर उसको जीवनको फैसला भने धेरैअघि नै भइसकेको थियो, ऊ अपराधी बनेकी थिइन, ऊ अपराधको प्रमाण बनेकी थिई, त्यो प्रमाण–जातको, गरिबीको, पितृसत्ताको, धनीको दम्भको र सबैभन्दा ठूलो–मौन बसेको समाजको ।
लेखक : आरती साप्ताहिक पत्रिकाको पूर्व प्रधान-सम्पादक तथा पियचडी अनुसन्धानकर्ता हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?