‘माटो स्वस्थ भए मात्र कृषि स्वस्थ हुन्छ, कृषि स्वस्थ भए मात्र किसान समृद्ध हुन्छ ।’
‘माटो स्वस्थ भए मात्र कृषि स्वस्थ हुन्छ, कृषि स्वस्थ भए मात्र किसान समृद्ध हुन्छ ।’ नेपालको कृषि क्षेत्र अहिले उत्पादन बढाउने दबाब र माटोको दीर्घकालीन स्वास्थ्य जोगाउने चुनौतीको बीचमा उभिएको छ । बढ्दो उत्पादन लागत, रासायनिक मलमा निर्भरता, माटोको उर्वराशक्तिमा आएको परिवर्तन तथा वातावरणीय चुनौतीका कारण जैविक मलको आवश्यकता र सम्भावना दुवै बढ्दै गएका छन् । तर सम्भावना हुँदाहुँदै पनि यसको बजार विस्तार अपेक्षित गतिमा हुन सकेको छैन ।
नेपालको रासायनिक मल बजार ठूलो छ । सरकारले हरेक वर्ष अर्बौं रुपैयाँ रासायनिक मलको अनुदानमा खर्च गर्दै आएको छ र लाखौं मेट्रिक टन मल किसानसम्म पु¥याउने व्यवस्था गरेको छ । यसले नेपालको मल बजारको विशालता देखाउँछ। तर अब प्रश्न केवल “कति मल चाहिन्छ ?” भन्ने होइन, “कस्तो मलले आजको उत्पादनसँगै भोलिको माटो पनि बचाउँछ ?” भन्ने हुनुपर्छ ।
पहिलो चुनौतीः
किसानको बुझाइ नेपालका किसानले दशकौंदेखि रासायनिक मल प्रयोग गर्दै आएका छन् । यसको प्रयोगपछि बालीमा छिटो परिणाम देखिने भएकाले किसानको मनमा यसको प्रभावकारिता बलियो बनेको छ । त्यसैले जैविक मल बजारमा प्रवेश गर्दा सबैभन्दा ठूलो चुनौती उत्पादन बेच्नु मात्र होइन, किसानको बुझाइ परिवर्तन गर्नु हो ।
राष्ट्रिय कृषि गणना २०७८-०७९ का तथ्यांकले पनि नेपालमा रासायनिक तथा स्थानीय÷जैविक मल दुवैको प्रयोग व्यापक रहेको देखाउँछ । यसले किसान पूर्णरूपमा एउटै प्रकारको मलमा निर्भर छैनन् भन्ने देखाउँछ । अब आवश्यकता वैज्ञानिक र सन्तुलित पोषण व्यवस्थापनको हो । जैविक मल बिरुवाका लागि खाना हो भने रासायनिक मल बिरुवाका लागि नशा हो !
हाम्रा किसानहरुमा जैविक मलहरु रसायनिक मलको तुलनामा प्रभावकारी हुदैनन भन्ने भनाई व्याप्त रहेको छ, हामीले रसायनिक मलले गर्ने सम्पूर्ण काम जैविक मलले गर्छ वा त्यसमा हुने बिरुवालाई चाहिने पूर्ण तत्व त्यसमा हुन्छ भन्ने जानकारीको कमी हुनु पनि हो ! सो कुरा व्यवहारिक क्रियाकलापबाट प्रमाणीत गर्नु पर्ने हुन्छ । साथै जैविक मलको प्रयोगले गुणस्तरिय उत्पादन हुने भयेकोले हाम्रा फलफुल तथा तरकारीले सहजै विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुनेछ ।
नेपालमा रासायनिक तथा स्थानीय-जैविक मल दुवैको प्रयोग व्यापक रहेको देखाउँछ । यसले किसान पूर्णरूपमा एउटै प्रकारको मलमा निर्भर छैनन् भन्ने देखाउँछ । अब आवश्यकता वैज्ञानिक र सन्तुलित पोषण व्यवस्थापनको हो । जैविक मल बिरुवाका लागि खाना हो भने रासायनिक मल बिरुवाका लागि नशा हो !
बजार बाधक : सरकारी नीति
जैविक मलको बजार विस्तारमा निजी क्षेत्रको कमजोरी मात्र जिम्मेवार छैन । सरकारी नीति र बजार संरचनाको असन्तुलन पनि महत्वपूर्ण चुनौती हो । रासायनिक मलका लागि सरकारले अनुदान, खरिद, आयात, भण्डारण र वितरणको व्यवस्थित संरचना बनाएको छ । तर गुणस्तरीय जैविक मलको उत्पादन, परीक्षण, प्रमाणीकरण, किसान शिक्षा र बजार प्रवद्र्धनमा त्यही स्तरको संस्थागत प्राथमिकता आवश्यक सरकारले रासायनिक मलको अनुदान तत्काल हटाउनुपर्छ भन्ने होइन । तर अब अनुदानको अवधारणा क्रमशः ‘मलको बोरा’ बाट “माटो स्वास्थ्य र सन्तुलित पोषण”तर्फ लैजानुपर्छ । गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन, सरल प्रमाणीकरण, नियमित गुणस्तर परीक्षण, किसानलाई प्राविधिक परामर्श र नमुना खेतजस्ता कार्यक्रम सरकारी प्राथमिकतामा आउनुपर्छ ।
पूर्वीय दर्शन र आधुनिक कृषि विज्ञान
हाम्रो पूर्वीय दर्शनले पृथ्वीलाई केवल उपयोग गर्ने वस्तुका रूपमा हेरेको छैन । अथर्ववेदको प्रसिद्ध भाव—“माता भूमिः पुत्रोऽहं पृथिव्याः”अर्थात् भूमि मेरी माता हुन्, म पृथ्वीको पुत्र हुँ—भन्ने दृष्टिकोणले मानिस र भूमिबीचको सम्बन्धलाई सम्मान र जिम्मेवारीसँग जोड्छ । यदि भूमि आमा हुन् भने हामीले उहाँबाट उत्पादन मात्र लिने कि उहाँको स्वास्थ्य पनि जोगाउने ? यही प्रश्न आधुनिक कृषि विज्ञानसँग जोडिन्छ । माटो केवल धुलो होइन; यो जैविक पदार्थ, सूक्ष्मजीव, पानी, हावा र पोषक तत्वको जटिल तथा जीवन्त प्रणाली हो । त्यसैले माटोलाई जीवित प्रणालीका रूपमा बुझ्ने आधुनिक विज्ञान र पृथ्वीलाई माताका रूपमा सम्मान गर्ने पूर्वीय दर्शनबीच गहिरो सम्बन्ध देखिन्छ । यस अर्थमा जैविक मल केवल कृषि सामग्री होइन; माटोको जीवन र दीर्घकालीन उत्पादन क्षमतासँग जोडिएको माध्यम हो ।
अब बजार किसानको खेतमा पुग्नुपर्छ । जैविक मलको सबैभन्दा ठूलो अवसर किसानको खेतमै छ । त्यसैले बजारीकरणको परम्परागत शैली बदल्न आवश्यक छ । पसलमा ग्राहक पर्खिने होइन, किसानको घरमा पुग्ने । गोष्ठीमा भाषण गर्ने होइन, खेतमा परिणाम देखाउने, बोरा बेच्ने होइन, माटोको समाधान दिने। किसान समूह, सहकारी र कृषि फार्ममा पुगेर माटो, बाली, उत्पादन, मल प्रयोग र लागतको वास्तविक अवस्था बुझ्नुपर्छ । हरेक पालिका वा किसान समूहमा नमुना प्रदर्शन खेत बनाउन सकिन्छ । एउटै बालीमा माटो परीक्षण, जैविक मलको प्रयोग, आवश्यक पोषक तत्व र उत्पादन लागतको तुलना गरेर किसानकै अगाडि परिणाम देखाउनुपर्छ । किसानले सुनेकोभन्दा आफ्नै खेतमा देखेको परिणाममा बढी विश्वास गर्छ । त्यसैले जैविक मलको बजारीकरण विज्ञापनमा मात्र होइन, प्रमाण र परिणाममा आधारित हुनुपर्छ ।
एउटै बालीमा माटो परीक्षण, जैविक मलको प्रयोग, आवश्यक पोषक तत्व र उत्पादन लागतको तुलना गरेर किसानकै अगाडि परिणाम देखाउनुपर्छ । किसानले सुनेकोभन्दा आफ्नै खेतमा देखेको परिणाममा बढी विश्वास गर्छ । त्यसैले जैविक मलको बजारीकरण विज्ञापनमा मात्र होइन, प्रमाण र परिणाममा आधारित हुनुपर्छ ।
सरकारका लागि स्पष्ट सुधार प्रस्ताव
जैविक मलको बजार विस्तारका लागि सरकारले निम्न सुधारलाई प्राथमिकता दिनुपर्छ ।
पहिलो– माटो स्वास्थ्यमा आधारित अनुदान नीति हुनुपर्छ । रासायनिक मलको अनुदानसँगै गुणस्तरीय जैविक मल, जैविक पदार्थ, बायोफर्टिलाइजर र माटो परीक्षणलाई प्रोत्साहन गर्नुपर्छ ।
दोस्रो– गुणस्तरको कडा सुनिश्चितता हुनुपर्छ । ‘जैविक’ नाममा गुणस्तरहीन उत्पादन बजारमा आउन नदिन पोषक तत्व, जैविक पदार्थ, चिस्यान, पिएच तथा अन्य आवश्यक मापदण्डका आधारमा नियमित परीक्षण र प्रमाणीकरण गर्नुपर्छ ।
तेस्रो– स्थानीय तहमा माटो स्वास्थ्य कार्यक्रम अघि बढाउनुपर्छ । हरेक स्थानीय तहमा माटो परीक्षण, प्रदर्शन खेत, किसान तालिम र प्राविधिक परामर्शलाई एउटै कार्यक्रमका रूपमा अघि बढाउनुपर्छ ।
चौथो– निजी क्षेत्रलाई सहज वातावरण हुनुपर्छ । जैविक मल उद्योगको दर्ता, परीक्षण र प्रमाणीकरण प्रक्रिया पारदर्शी, सरल र समयबद्ध हुनुपर्छ । नियमन आवश्यक छ, तर यस्तो नियमन जसले गुणस्तर सुनिश्चित गर्दै उत्पादन र बजार विस्तारमा सहयोग गरोस् ।
पाँचौँ– परिणाममा आधारित कृषि कार्यक्रम बनाउनुपर्छ । केवल मल वितरणको तथ्यांक होइन, माटोको अवस्था, उत्पादन लागत, उत्पादकत्व र किसानको आम्दानीमा आएको परिवर्तनलाई पनि सरकारी कार्यक्रमको सफलताको आधार बनाउनुपर्छ ।
निष्कर्षः
मलको बजार होइन, माटोको भविष्य, नेपालमा जैविक मलको सबैभन्दा ठूलो समस्या बजारको अभाव होइन; विश्वास, ज्ञान, गुणस्तर, नीति र प्रभावकारी बजारीकरणको अभाव हो । अब जैविक मलको अभियानले किसानलाई रासायनिक मलको विरोध गर्न होइन, सन्तुलित र विवेकपूर्ण मल व्यवस्थापन गर्न सिकाउनुपर्छ । सरकारले नीति र अनुदान सुधार गर्नुपर्छ । निजी क्षेत्रले गुणस्तरीय उत्पादन दिनुपर्छ । प्राविधिकले वैज्ञानिक सल्लाह दिनुपर्छ । सहकारी र किसान समूहले सामूहिक प्रयोग र बजार निर्माणमा भूमिका खेल्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा—किसानको घरघरमा पुगेर, किसान समूहमा बसेर र खेतमै परिणाम देखाएर जैविक मलको वास्तविक महत्व बुझाउनुपर्छ । किसानलाई अब एउटा प्रश्न सोध्ने बेला आएको छ–‘तपाईंलाई यो वर्ष धेरै उत्पादन मात्र चाहिएको हो, कि हरेक वर्ष उत्पादन दिन सक्ने स्वस्थ माटो पनि चाहिएको हो ?’ यदि उत्तर दुवै हो भने हाम्रो कृषि नीति र बजार प्रणाली पनि त्यहीअनुसार बदलिनु पर्छ । जैविक मल बिरुवाको खाना हो भने रासायनिक मल नशा हो ! आजको उत्पादन मात्र होइन–भोलिको उर्वर भूमि पनि बचाऔँ । माटो बाँचे कृषि बाँच्छ । कृषि बाँचे किसान बाँच्छ ।
किसान बाँचे राष्ट्रको खाद्य सुरक्षा बाँच्छ । जय किसान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?