तपाईंको एउटा गीतले लाखौँ मानिसलाई फूलको आँखाले संसार हेर्न सिकाएको छ । अब त्यही दृष्टिले आलोचकलाई पनि हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।
आदरणीय आनी छोइङ डोल्माज्यू,
सादर प्रणाम !
तपाईंको उचाइ पदले होइन, त्यागले नापिन्छ त्यसकारण तपाईंले लुम्बिनीको उपाध्यक्ष पद अस्वीकार गरिदिनुहोस । तपाईंको स्वर केवल गीत गाउने स्वर होइन, मानवताको पक्षमा बोल्ने एउटा जीवन्त आवाज हो । तपाईंको कला, गलामा गुञ्जिने करुणा, राष्ट्रप्रतिको प्रेम र समाजसेवाप्रतिको समर्पणले तपाईंलाई एउटा सामान्य कलाकारको सीमाभन्दा धेरै माथि पुर्याएको छ । तपाईंको नाम नेपालका सीमाभित्र मात्र सीमित छैन, संसारका अनेक भूगोलमा तपाईंको स्वरले शान्ति, प्रेम, करुणा र मानवीय संवेदनाको सन्देश पुर्याएको छ । तपाईंले गाउनुभएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ केवल एउटा लोकप्रिय गीत होइन, जीवनलाई हेर्ने दृष्टिकोणको दर्शन हो । यसले मानिसलाई सिकाउँछ, संसार कस्तो देखिन्छ भन्ने कुरा धेरै हदसम्म हाम्रो दृष्टि कस्तो छ भन्नेमा निर्भर हुन्छ । फूल देख्ने आँखाले सुन्दरता बाँड्छ, काँडा देख्ने आँखाले पीडा खोज्छ । तपाईंको स्वरमा यही जीवनदर्शन मिसिएकाले तपाईंको गीत सुन्दा केवल कान आनन्दित हुँदैनन्, मन पनि करुणा र मानवताको भावले स्पन्दित हुन्छ ।
आनीज्यू, तपाईंको लोकप्रियतालाई कुनै एउटा पद, प्रतिष्ठान वा औपचारिक जिम्मेवारीसँग तुलना गर्न मिल्दैन । सगरमाथाको उचाइ नाप्न सकिएला, तर मानिसको हृदयमा उसले बनाएको स्थान नाप्ने कुनै यन्त्र छैन । तपाईंले आफ्नो कला, साधना, त्याग र सेवाबाट संसारभरका मानिसको मनमा बनाउनुभएको स्थान त्यस्तै अग्लो छ-जहाँ पुग्न पदको सिँढी चढिरहनुपर्दैन । गौतम बुद्धको दर्शनले हामीलाई सिकाएको छ, त्याग कमजोरी होइन, आत्मबोधको उच्चतम अभिव्यक्ति पनि हुन सक्छ । सिद्धार्थले राजसी सुखसुविधा त्यागेर मानव दुःखको कारण खोज्न हिँडे । त्यसैले बुद्धको बाटोमा हिँड्ने व्यक्तिका लागि पदभन्दा ठूलो प्रश्न हो, त्यो पदले आफ्नो जीवनको उद्देश्यलाई कति सार्थक बनाउँछ ?
आनीज्यू, तपाईंको नामसँग जोडिएको सबैभन्दा सुन्दर परिचय कुनै सरकारी नियुक्ति होइन । त्यो हो तपाईंको स्वर, तपाईंको साधना, तपाईंको करुणा र तपाईंले मानिसका हृदयमा जगाउनुभएको मानवताको भावना । तपाईंको जीवनको अर्थ एउटा पदले पूरा गर्दैन, न त एउटा पद गुमाउँदैमा तपाईंको योगदान समाप्त हुन्छ ।
तपाईंको जीवनयात्रा र सार्वजनिक छविले हामीलाई यस्तै प्रश्न सोध्ने प्रेरणा दिन्छ । पछिल्लो समय लुम्बिनी विकास कोषको उपाध्यक्ष पद र तपाईंको नागरिकता तथा पारिवारिक सम्बन्धबारे सञ्चारमाध्यममा आएका समाचारले सार्वजनिक बहस जन्माएको छ । ती समाचारमा उठेका विषयको सत्यता र कानुनी पक्ष सम्बन्धित प्रमाण तथा आधिकारिक प्रक्रियाबाटै टुङ्गिनुपर्छ । कुनै आरोप वा समाचारलाई अन्तिम सत्य मानेर निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन । तर सार्वजनिक जीवनमा उठेका प्रश्नको सम्बोधन पारदर्शिता, संयम र जिम्मेवारीका साथ हुनु आवश्यक छ । यही सन्दर्भमा तपाईंप्रति शुभेच्छा राख्ने एक नेपालीका रूपमा मेरो मनमा एउटा आग्रह छ । आनीज्यू, विरोधका हरेक स्वरलाई शत्रुता ठान्ने, आलोचनालाई कसैले किनेर ल्याएको आरोपसँग जोड्ने वा असहमतिको वातावरणमा अप्रिय घटना हुन सक्ने आशयका अभिव्यक्ति दिने अवस्था सिर्जना भयो भने त्यसले तपाईंले जीवनभर प्रवाह गर्नुभएको करुणा र अहिंसाको सन्देशसँग असहज प्रश्न खडा गर्न सक्छ । यस्ता अभिव्यक्ति वास्तवमै के सन्दर्भमा आएका हुन् भन्ने कुरा पनि निष्पक्ष रूपमा बुझिनुपर्छ । तर तपाईंको सार्वजनिक व्यक्तित्वको उचाइलाई हेर्दा आलोचनाको सामना गर्ने तपाईंको शैलीसमेत त्यत्तिकै शान्त, उदार र मर्यादित होस् भन्ने जनअपेक्षा स्वाभाविक छ ।
तपाईंको एउटा गीतले लाखौँ मानिसलाई फूलको आँखाले संसार हेर्न सिकाएको छ । अब त्यही दृष्टिले आलोचकलाई पनि हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । किनकि मानवता भनेको प्रशंसा गर्नेलाई माया गर्नु मात्र होइन, प्रश्न गर्नेलाई पनि सम्मानपूर्वक सुन्न सक्नु हो । मेरो आग्रह तपाईंलाई कुनै आरोपबाट दोषी ठहर गर्न होइन । न त तपाईंको योगदानलाई एउटा विवादमा सीमित गर्न हो । बरु तपाईंको योगदानको उचाइलाई विवादभन्दा माथि राख्न सकियोस् भन्ने हो । आनीज्यू, लुम्बिनी विकास कोषको उपाध्यक्ष पद तपाईंका लागि सम्मानको विषय हुन सक्छ, तर तपाईंले संसारभर कमाउनुभएको सम्मानका लागि त्यो पद अनिवार्य सर्त होइन । पदले व्यक्तिलाई परिचय दिन सक्छ, तर व्यक्तिको जीवनभरको साधना र योगदानले पदलाई नै परिचय दिने सामथ्र्य राख्छ । लुम्बिनी बुद्धको जन्मभूमि हो । यो केवल एउटा भौगोलिक क्षेत्र होइन, शान्ति, करुणा, अहिंसा र त्यागको विश्वव्यापी सन्देश बोकेको पवित्र भूमि हो । यहाँको नेतृत्वमा पुग्ने व्यक्तिबाट पनि त्यही दर्शनअनुरूपको व्यवहार र सार्वजनिक उत्तरदायित्वको अपेक्षा गरिन्छ । त्यसैले तपाईंको निर्णय केवल व्यक्तिगत प्रतिष्ठासँग सम्बन्धित विषय होइन, यसले लुम्बिनीको सार्वजनिक गरिमा र नेतृत्वप्रतिको विश्वासबारे पनि बहस जन्माउँछ । यदि तपाईंलाई लाग्छ, वर्तमान परिस्थितिमा उपाध्यक्ष पदमा रहिरहनुभन्दा पदबाट अलग भएर आफ्नो योगदान, साधना र सार्वजनिक मर्यादालाई विवादभन्दा माथि राख्नु उचित हुन्छ, भने स्वेच्छाले पद अस्वीकार गर्नु वा त्याग्नु तपाईंको स्वतन्त्र निर्णय हुन सक्छ । त्यस्तो निर्णयलाई कसैको दबाबमा गरिएको पराजयका रूपमा होइन, आफ्नो विवेकअनुसार लिइएको निर्णयका रूपमा हेर्न सकिन्छ । कहिलेकाहीँ इतिहासमा सबैभन्दा गहिरो छाप पद सम्हालेर होइन, पद छाडेर पनि बसाइन्छ । सबै लडाइँ जित्नैपर्छ भन्ने हुँदैन, कतिपय अवस्थामा विवादबाट माथि उठ्नु नै आफ्नो मूल्यमान्यता जोगाउने बाटो बन्न सक्छ ।
आनीज्यू, सगरमाथा अग्लो देखिन कुनै सिंहासनमा बस्नुपर्दैन । बुद्धको सन्देश फैलाउन कुनै पदवी अनिवार्य हुँदैन । अनि जनताको मनमा बस्न सरकारी कुर्सीमा बसिरहनैपर्छ भन्ने पनि छैन ।
आनीज्यू, तपाईंको नामसँग जोडिएको सबैभन्दा सुन्दर परिचय कुनै सरकारी नियुक्ति होइन । त्यो हो तपाईंको स्वर, तपाईंको साधना, तपाईंको करुणा र तपाईंले मानिसका हृदयमा जगाउनुभएको मानवताको भावना । तपाईंको जीवनको अर्थ एउटा पदले पूरा गर्दैन, न त एउटा पद गुमाउँदैमा तपाईंको योगदान समाप्त हुन्छ । त्यसैले मेरो हार्दिक आग्रह छ, आफ्नो मान, सम्मान र प्रतिष्ठालाई पदको निरन्तरतासँग गाँसेर नहेर्नुहोस् । तपाईंले जीवनभर सिकाउनुभएको त्याग, शान्ति र करुणाको दर्शनलाई निर्णयको घडीमा पनि सम्झनुहोस् । पदभन्दा माथि उठेर जनताको मनमा बसिरहन सक्ने सम्भावनाबारे गम्भीरतापूर्वक विचार गर्नुहोस् । तपाईं पदमा रहनुभयो भने पनि तपाईंको योगदानको मूल्यांकन काम र आचरणबाट हुनेछ, पदबाट अलग हुनुभयो भने पनि तपाईंको जीवनभरको साधना मेटिने छैन ।
अन्ततः निर्णायक कुरा पद होइन, तपाईंले रोज्नुभएको बाटो र त्यसप्रतिको जिम्मेवारी हुनेछ । आनीज्यू, सगरमाथा अग्लो देखिन कुनै सिंहासनमा बस्नुपर्दैन । बुद्धको सन्देश फैलाउन कुनै पदवी अनिवार्य हुँदैन । अनि जनताको मनमा बस्न सरकारी कुर्सीमा बसिरहनैपर्छ भन्ने पनि छैन । तपाईंको प्रसिद्धि सगरमाथाझैँ अग्लो रहोस्, तपाईंको स्वरमा करुणा निरन्तर गुञ्जिरहोस् र तपाईंको जीवनले फेरि पनि संसारलाई त्यागको अर्थ सम्झाओस्, मेरो शुभेच्छा यही हो । पदले तपाईंलाई ठूलो नबनाओस, तपाईंको व्यक्तित्वले पदको गरिमा बढाओस् । तर कुनै पदका कारण तपाईंको जीवनभरको साधना र सार्वजनिक प्रतिष्ठा अनावश्यक विवादमा अल्झिन नपरोस् । आनीज्यू, तपाईंलाई संसारले चिनेको तपाईंको नामका कारण हो, अब तपाईंको निर्णयले पनि त्यही नामको गरिमा झल्कियोस् ।
सादर शुभेच्छासहित,
नवराज लम्साल
तपाईंको एक शुभचिन्तक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?