विजयादशमीको दर्शन : धर्म, शक्ति र आत्मविजयको पूर्वीय चिन्तन
बाह्य शत्रुलाई पराजित गर्नु विजयको एउटा रूप हो । तर मानिसले आफ्नै मन, इच्छा र प्रवृत्तिमाथि नियन्त्रण गर्न नसके बाह्य विजय पनि अपूर्ण रहन्छ ।
विजयादशमी नेपाली समाजको एउटा महान् सांस्कृतिक पर्व मात्र होइन, मानव जीवन, नैतिकता, शक्ति, कर्तव्य र आत्मपरिवर्तनबारे गहिरो प्रश्न उठाउने पूर्वीय दर्शनको जीवन्त सांस्कृतिक अभिव्यक्ति पनि हो । दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको आख्यान होस् वा रामले रावणमाथि विजय प्राप्त गरेको रामकथात्मक परम्परा, यी दुवैमा अन्यायपूर्ण शक्तिको प्रतिरोध, धर्मको स्थापना र मानवीय मर्यादाको प्रश्न जोडिएको छ । तर, विजयादशमीको वास्तविक दार्शनिक महत्त्व शत्रुको पराजयमा मात्र सीमित छैन । यसको गहिरो अर्थ मानिसले आफ्नै अहंकार, लोभ, मोह, क्रोध र अविवेकमाथि विजय प्राप्त गर्न सक्ने नैतिक क्षमतामा पनि निहित छ ।
पूर्वीय दर्शनले मानिसलाई बाह्य संसारको विजेता बन्नुअघि आफ्नै मन, विचार र व्यवहारको परीक्षण गर्न प्रेरित गर्छ । त्यसैले दशैँलाई केवल धार्मिक अनुष्ठान, पारिवारिक जमघट वा मनोरञ्जनको अवसरका रूपमा होइन, व्यक्तिको आत्मपरिष्कार, समाजको नैतिक पुनर्निर्माण र जीवनप्रतिको जिम्मेवारीबोधको पर्वका रूपमा पनि बुझ्न आवश्यक छ ।
धर्म र अधर्मको दार्शनिक द्वन्द्व
‘विजयादशमी’ शब्दमा विजय र दशमीको संयोजन छ । परम्परागत हिन्दू मान्यतामा यो पर्वले धर्मको अधर्ममाथि विजय, सत्यको असत्यमाथि विजय र न्यायको अन्यायमाथि विजयलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्छ । तर दर्शनशास्त्रीय दृष्टिले धर्म र अधर्मको अर्थलाई धार्मिक अनुष्ठान वा दुई पक्षबीचको युद्धमा मात्र सीमित गर्न मिल्दैन । यसको सम्बन्ध मानवीय आचरण, सामाजिक न्याय, कर्तव्य, विवेक र नैतिक उत्तरदायित्वसँग पनि छ । भगवद्गीताको चौथो अध्यायमा भगवान् कृष्णले धर्मको ह्रास र अधर्मको वृद्धिका अवस्थामा धर्मको पुनःस्थापनाका लागि आफू प्रकट हुने विचार व्यक्त गरेका छन् । गीताको प्रसिद्ध श्लोक छ ।
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।” (भगवद्गीता, ४.७)
यसको भावार्थ हो—जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, तब धर्मको पुनःस्थापनाका लागि दैवी हस्तक्षेप हुन्छ । यो श्लोक विजयादशमीको प्रत्यक्ष व्याख्या होइन । तथापि, यसमा व्यक्त धर्मको पुनःस्थापनासम्बन्धी विचारले दशैँको दार्शनिक अर्थ बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ । धर्मको अर्थ यहाँ न्यायपूर्ण व्यवस्था, कर्तव्य र नैतिक जीवनसँग जोडेर बुझ्न सकिन्छ । धर्मको विजयको अर्थ अर्को व्यक्तिलाई पराजित गर्नु मात्र होइन । आफ्नो स्वार्थका कारण अरूको अधिकार हनन नगर्नु, शक्तिको दुरुपयोग नगर्नु, अन्यायको प्रतिरोध गर्नु र सार्वजनिक जीवनमा इमानदारी कायम राख्नु पनि धर्मको व्यावहारिक अभिव्यक्ति हो । धार्मिक आस्थाको मूल्य मानिसको व्यवहारमा कति न्याय, करुणा र उत्तरदायित्व छ भन्ने प्रश्नबाट पनि परीक्षण हुन्छ । समाजमा पूजा गर्ने मानिस धेरै हुन सक्छन्, तर पूजाको भावनालाई व्यवहारमा उतार्ने मानिस कति छन् भन्ने प्रश्न झन् महत्त्वपूर्ण छ । मन्दिरमा दीप प्रज्वलित गर्नु र अरूको जीवनमा आशाको दीप बाल्नुबीचको सम्बन्ध बुझ्न सकियो भने धर्म कर्मकाण्डको सीमाबाट निस्केर नैतिक जीवनको आधार बन्न सक्छ ।
पूर्वीय दर्शनको अर्को महत्त्वपूर्ण परम्परा बौद्ध दर्शन हो । यसले लोभ, द्वेष र मोहलाई मानवीय दुःखका प्रमुख मानसिक आधारका रूपमा विश्लेषण गर्छ । बौद्ध दृष्टिकोणले विजयको अवधारणामा करुणा, अहिंसा र मानसिक रूपान्तरणको आयाम थप्छ । धम्मपदको प्रसिद्ध पदमा भनिएको छ ।
दुर्गा र महिषासुर : शक्तिको न्यायपूर्ण प्रयोग
विजयादशमीको प्रमुख धार्मिक आख्यान देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको कथा हो । देवीमाहात्म्यमा देवीलाई दैवी शक्तिको समष्टिगत स्वरूपका रूपमा प्रस्तुत गरिएको छ । महिषासुरको अत्याचारबाट सङ्कटमा परेको विश्वव्यवस्थालाई पुनःस्थापित गर्न विभिन्न देवताका शक्तिको समन्वयबाट देवीको प्राकट्य भएको आख्यानले सामूहिक सामथ्र्य र अन्यायको प्रतिरोधलाई महत्त्व दिन्छ । धर्म, संस्कृति र दर्शनका अध्येता थोमस बी. कोबर्नले आफ्नो पुस्तक Encountering the Goddess मा देवीमाहात्म्यको व्याख्या गर्दै देवीको स्वरूप, धार्मिक अर्थ र शक्त परम्पराको महत्त्वबारे विस्तृत विवेचना गरेका छन् (Coburn, १९९१) । यस ग्रन्थका आधारमा दुर्गाको आख्यानलाई केवल युद्धमा प्राप्त विजयका रूपमा नभई शक्ति र विश्वव्यवस्थाबीचको सम्बन्धका रूपमा पनि बुझ्न सकिन्छ । शक्ति आफैँमा न त पूर्णतः न्यायपूर्ण हुन्छ, न अन्यायपूर्ण । यसको नैतिक मूल्य त्यसको प्रयोगमा निर्भर हुन्छ । शक्तिले निर्बलको संरक्षण गर्छ कि निर्बललाई दबाउँछ ? त्यसले न्याय स्थापित गर्छ कि अन्यायलाई संस्थागत बनाउँछ ? त्यसले जीवनको रक्षा गर्छ कि विनाशकारी प्रवृत्तिलाई प्रोत्साहन दिन्छ ? यी प्रश्नले शक्तिको वास्तविक चरित्र निर्धारण गर्छन् । यस अर्थमा दुर्गा केवल महिषासुरलाई पराजित गर्ने देवी होइनन, उनी अन्यायपूर्ण शक्तिविरुद्ध प्रतिरोध गर्ने सामथ्र्यको प्रतीक पनि हुन् । समाजमा अन्याय भइरहँदा मौन बस्नु, शक्तिशालीको गलत कामलाई समर्थन गर्नु वा निर्बलको पीडाप्रति उदासीन रहनु नैतिक दृष्टिले प्रश्नयोग्य हुन्छ । दुर्गाको आराधनाले मानिसलाई अन्यायविरुद्ध उभिने साहस दिन्छ भने त्यसको सामाजिक अर्थ अझ व्यापक हुन्छ । तर महिषासुरलाई कुनै समकालीन जाति, समुदाय वा राजनीतिक समूहसँग सीधै जोड्नु उचित हुँदैन । पौराणिक आख्यानको दार्शनिक अर्थ खोज्दा त्यसको धार्मिक र सांस्कृतिक सन्दर्भको सम्मान गर्नुपर्छ ।
नारीशक्ति र सामाजिक समानताको प्रश्न
दुर्गापूजाको अर्को महत्त्वपूर्ण पक्ष नारीशक्तिको प्रतिष्ठा हो । शक्ति परम्परामा देवीलाई पुरुष देवताकी सहायक पात्रमा मात्र सीमित गरिएको छैन । उनी स्वयं सृष्टि, संरक्षण र विनाशसँग सम्बन्धित सर्वोच्च शक्तिका रूपमा प्रतिष्ठित छन् । यसले स्त्रीलाई आध्यात्मिक सामथ्र्यको स्रोतका रूपमा स्वीकार गर्ने विशिष्ट धार्मिक दृष्टिकोण प्रस्तुत गर्छ तर देवीलाई शक्तिशाली मानेर पूजा गर्नु र समाजमा जीवित महिलालाई समान अधिकार दिनु एउटै कुरा होइन । धार्मिक प्रतीकमा नारीको महिमा गाउने समाजले व्यवहारमा महिलामाथि हिंसा, विभेद, अवसरको असमानता र निर्णय प्रक्रियाबाट बहिष्करण कायम राख्छ भने त्यहाँ आदर्श र व्यवहारबीच गम्भीर विरोधाभास हुन्छ । दुर्गापूजाको वास्तविक सामाजिक सन्देश महिलाको सम्मानका भाषणमा मात्र सीमित हुनु हुँदैन । छोरीको शिक्षामा समान अवसर, महिलाको सम्पत्तिमा अधिकार, राजनीतिक सहभागिता, रोजगारीमा समानता र हिंसामुक्त जीवनको सुनिश्चिततामा यसको प्रभाव देखिनुपर्छ । नारीशक्तिको सम्मान भनेको महिलालाई देवीको आसनमा राखेर मानवीय आवश्यकताबाट अलग गर्नु होइन । महिलालाई स्वतन्त्र व्यक्तित्व, विवेकशील नागरिक र आफ्नो जीवनको निर्णय आफैँ गर्न सक्ने समान अधिकारसम्पन्न मानवका रूपमा स्वीकार गर्नु हो । यस अर्थमा विजयादशमीको नारीशक्तिसम्बन्धी दर्शन आधुनिक लैङ्गिक न्यायसँग संवाद गर्न सक्छ । देवीको आराधना तब अझ अर्थपूर्ण हुन्छ, जब त्यसले महिलाको वास्तविक जीवनमा सम्मान, सुरक्षा र स्वायत्तताको आधार निर्माण गर्छ ।
राम र रावण : ज्ञानभन्दा माथि नैतिकता
विजयादशमीसँग जोडिएको अर्को लोकप्रिय आख्यान रामले रावणमाथि विजय प्राप्त गरेको कथा हो । रामायणका विभिन्न परम्परा र क्षेत्रीय व्याख्यामा यस विजयको अर्थ फरक–फरक ढङ्गले विस्तार भएको पाइन्छ । वाल्मीकि रामायणले रामको जीवनमार्फत कर्तव्य, पारिवारिक सम्बन्ध, राजधर्म, नैतिक द्विविधा र राज्य सञ्चालनका प्रश्न उठाउँछ (Goldman, १९८४) । राम र रावणको आख्यानमा एउटा महत्त्वपूर्ण दार्शनिक प्रश्न निहित छ के ज्ञान, विद्वत्ता र शक्ति हुँदैमा मानिस नैतिक रूपमा श्रेष्ठ हुन्छ ? रावणलाई अनेक परम्परामा विद्वान्, सामथ्र्यवान् र तपस्वी पात्रका रूपमा पनि चित्रण गरिएको छ । तर विद्वत्ता र शक्ति मात्रले नैतिक श्रेष्ठता सुनिश्चित गर्दैनन् भन्ने सन्देश रामकथाको नैतिक विमर्शमा महत्त्वपूर्ण छ । ज्ञानको मूल्य त्यसको प्रयोगबाट निर्धारण हुन्छ । विज्ञानले मानव जीवनलाई सहज बनाउन सक्छ, तर त्यही ज्ञान विनाशकारी उद्देश्यमा प्रयोग भयो भने संकटको कारण पनि बन्न सक्छ । राजनीतिक शक्ति जनताको सेवा गर्न प्रयोग हुन सक्छ, तर व्यक्तिगत स्वार्थका लागि प्रयोग गरियो भने उत्पीडनको साधन बन्छ । धनले समाजको कल्याण गर्न सक्छ, तर लोभ र प्रदर्शनमा सीमित भयो भने असमानता बढाउन सक्छ । यसैले राम–रावणको द्वन्द्वलाई विवेक र अहंकार, मर्यादा र स्वेच्छाचार, उत्तरदायित्व र स्वार्थबीचको नैतिक द्वन्द्वका रूपमा पनि बुझ्न सकिन्छ तर रामायणका जटिल प्रसङ्गलाई सरल रूपमा असल र खराबको द्वैधतामा सीमित गर्नु पर्याप्त हुँदैन । विभिन्न पाठ र व्याख्यामा पात्रहरूको आचरणबारे आलोचनात्मक प्रश्न उठाउन सकिन्छ । दर्शनको काम श्रद्धालाई अस्वीकार गर्नु होइन, श्रद्धाका विषयलाई विवेकपूर्ण ढङ्गले बुझ्नु पनि हो । रामको विजयको सामाजिक अर्थ अन्यायको प्रतिरोध, कर्तव्यप्रतिको प्रतिबद्धता र नेतृत्वको नैतिक जिम्मेवारीमा खोज्न सकिन्छ । रावणको पराजयको प्रतीकात्मक अर्थ ज्ञान र शक्तिसँगै मर्यादा तथा नैतिकता आवश्यक हुन्छन् भन्ने सन्देशमा भेटिन्छ ।
उपनिषद् : आफ्नै मनमाथिको विजय
बाह्य शत्रुलाई पराजित गर्नु विजयको एउटा रूप हो । तर मानिसले आफ्नै मन, इच्छा र प्रवृत्तिमाथि नियन्त्रण गर्न नसके बाह्य विजय पनि अपूर्ण रहन्छ । यही विचारलाई उपनिषद्को आत्मज्ञानसम्बन्धी दर्शनसँग जोडेर बुझ्न सकिन्छ । कठोपनिषद् को पहिलो अध्यायको तेस्रो वल्लीमा शरीर, मन, बुद्धि र आत्माको सम्बन्धलाई रथको दृष्टान्तबाट व्याख्या गरिएको छ। शरीर रथ हो, बुद्धि सारथि हो, मन लगाम हो र इन्द्रियहरू घोडा हुन् भन्ने रूपकले विवेकपूर्ण जीवनको महत्त्व देखाउँछ (कठोपनिषद्, १.३.३–९)। यस दृष्टान्तको आशय मानिसले आफ्ना इन्द्रिय र आवेगको अन्धअनुसरण गर्नु हुँदैन भन्ने हो । बुद्धि र विवेकको निर्देशनमा मनलाई संयमित गर्न सकियो भने जीवनको यात्रा बढी सन्तुलित हुन्छ । दशैँको सन्दर्भमा यस विचारको प्रतीकात्मक अर्थ अत्यन्त महत्त्वपूर्ण छ । मानिसले संसार जित्ने आकांक्षा राख्छ, तर आफ्नै क्रोध नियन्त्रण गर्न सक्दैन । अरूलाई उपदेश दिन्छ, तर आफ्नै व्यवहार सुधार्न तयार हुँदैन । सत्यको पक्षमा उभिने घोषणा गर्छ, तर आफ्नो स्वार्थसँग ठोक्किँदा सत्यबाट पछि हट्छ । यस्तो अवस्थामा विजयको बाह्य उत्सवले आन्तरिक परिवर्तनको प्रश्नलाई बेवास्ता गर्न सक्छ । उपनिषद्को आत्मज्ञानसम्बन्धी चिन्तनले मानिसलाई आफ्नै अस्तित्व, इच्छा र व्यवहारमाथि प्रश्न गर्न प्रेरित गर्छ । आफूले चाहेको कुरा नै सधैँ उचित हुन्छ कि हुँदैन ? आफ्नो विचार नै अन्तिम सत्य हो कि होइन ? आफ्नो सफलता अरूको दुःखमाथि आधारित छ कि छैन ? यस्ता प्रश्न आत्मपरीक्षणका आधार हुन् । आत्मविजयको अर्थ इच्छाशक्तिलाई नष्ट गर्नु होइन, इच्छालाई विवेक र नैतिक जिम्मेवारीको अधीनमा राख्नु हो । विजयादशमीको गहिरो दार्शनिक सन्देश यही आत्मपरिष्कारमा पनि भेटिन्छ ।
दशैँको सांस्कृतिक जीवनमा जमराको विशेष स्थान छ । माटोमा राखिएको बीउ उचित वातावरण पाएपछि उम्रन्छ र समयसँगै विकसित हुन्छ । जमरा जीवन, उर्वरता, वृद्धि र पुनर्नवीकरणको प्रतीकका रूपमा बुझ्न सकिन्छ । मानिसको जीवन पनि प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ । खाद्यान्न, पानी, हावा, माटो र जैविक विविधताबिना मानव सभ्यताको अस्तित्व सम्भव हुँदैन । त्यसैले जमराको सांस्कृतिक महत्त्वलाई प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय उत्तरदायित्वसँग जोडेर व्याख्या गर्न सकिन्छ ।
भगवद्गीताको कर्मयोग : फलभन्दा कर्तव्यको महत्त्व
भगवद्गीताले मानव जीवनको नैतिक द्विविधालाई कर्मयोगको दृष्टिले विश्लेषण गर्छ । अर्जुन युद्धभूमिमा कर्तव्य र सम्बन्धबीचको द्वन्द्वमा परेका छन् । कृष्णले उनलाई कर्म, धर्म, विवेक र आसक्तिबारे शिक्षा दिन्छन् ।
गीताको प्रसिद्ध श्लोक छ । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।” (भगवद्गीता, २.४७)
यसको भावार्थ हो—मानिसको अधिकार कर्ममा छ, फलप्रतिको आसक्तिले मात्र कर्म निर्देशित हुनु हुँदैन र फलको मोहका कारण कर्मबाट विमुख पनि हुनु हुँदैन । निष्काम कर्मको सिद्धान्तलाई जीवनको व्यावहारिक नैतिकतासँग जोडेर हेर्न सकिन्छ । शिक्षकले विद्यार्थीको भविष्यप्रति जिम्मेवार भएर पढाउनु, कर्मचारीले घुसबिना सेवा दिनु, राजनीतिज्ञले निजी स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनु र नागरिकले आफ्नो कर्तव्य पूरा गर्नु कर्मयोगका समकालीन उदाहरण हुन् । यहाँ निष्काम कर्मको अर्थ परिणामको कुनै वास्ता नगर्नु होइन । यसको आशय परिणामको लोभ वा व्यक्तिगत प्रतिष्ठाको मोहले कर्तव्यलाई विस्थापित गर्न नदिनु हो । विजयादशमीमा हामी असत्यमाथि सत्यको विजयको कामना गर्छौँ । तर सत्यको पक्षमा उभिन दैनिक जीवनमा कति कठिनाइ स्वीकार गर्छौँ ? इमानदारीका कारण व्यक्तिगत लाभ गुमाउनुपर्दा आफ्नो निर्णयमा कति अडिग रहन्छौँ ? अन्यायविरुद्ध बोल्दा आफ्नो स्वार्थमा असर पर्न सक्छ भन्ने डरलाई कति नियन्त्रण गर्न सक्छौँ ? यी प्रश्नको उत्तरले नैतिक आदर्श र वास्तविक जीवनबीचको दूरी देखाउँछ । कर्मयोगको दृष्टिले दसैँ केवल विजयको कामना गर्ने पर्व होइन, कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता नवीकरण गर्ने अवसर पनि हो ।
बौद्ध दर्शन : द्वेषमाथि करुणाको विजय
पूर्वीय दर्शनको अर्को महत्त्वपूर्ण परम्परा बौद्ध दर्शन हो । यसले लोभ, द्वेष र मोहलाई मानवीय दुःखका प्रमुख मानसिक आधारका रूपमा विश्लेषण गर्छ । बौद्ध दृष्टिकोणले विजयको अवधारणामा करुणा, अहिंसा र मानसिक रूपान्तरणको आयाम थप्छ । धम्मपदको प्रसिद्ध पदमा भनिएको छ ।
“न हि वेरेन वेरानि सम्मन्तीध कुदाचनं। अवेरेन च सम्मन्ति, एस धम्मो सनन्तनो।।” (धम्मपद, ५)
भावार्थ—यस संसारमा वैरले वैर कहिल्यै शान्त हुँदैन, वैर अवैर अर्थात् द्वेषरहित व्यवहारबाट शान्त हुन्छ । यही सनातन सत्य हो । यस विचारले विजयको अर्थलाई अझ गहिरो बनाउँछ । अन्यायको प्रतिरोध आवश्यक हुन सक्छ, तर प्रतिरोधलाई प्रतिशोधमा रूपान्तरण गर्दा हिंसाको चक्र निरन्तर चलिरहन सक्छ। न्याय खोज्नु र घृणा पाल्नु एउटै कुरा होइनन्। बौद्ध दर्शनले द्वेषको अन्त्य, करुणाको विकास र सचेत आचरणमा जोड दिन्छ । दशैँको सन्दर्भमा यसलाई पारिवारिक मनमुटाव अन्त्य गर्ने, पुराना वैमनस्यलाई संवादबाट समाधान गर्ने र सामाजिक सम्बन्धलाई सद्भावपूर्ण बनाउने अवसरका रूपमा बुझ्न सकिन्छ । क्षमा गर्नुको अर्थ अन्यायलाई स्वीकार गर्नु होइन । करुणा देखाउनुको अर्थ दोषीलाई जिम्मेवारीबाट मुक्त गर्नु पनि होइन । बरु न्याय र मानवीय गरिमालाई कायम राख्दै द्वेषको पुनरुत्पादन रोक्नु नै यसको गहिरो अर्थ हो । यसैले विजयादशमीको एउटा महत्त्वपूर्ण पाठ शत्रुलाई पराजित गर्नुका साथै आफूभित्र शत्रुता पाल्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्नु हो ।
जमरा : प्रकृति र जीवनको दर्शन
दशैँको सांस्कृतिक जीवनमा जमराको विशेष स्थान छ । माटोमा राखिएको बीउ उचित वातावरण पाएपछि उम्रन्छ र समयसँगै विकसित हुन्छ । जमरा जीवन, उर्वरता, वृद्धि र पुनर्नवीकरणको प्रतीकका रूपमा बुझ्न सकिन्छ । मानिसको जीवन पनि प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ । खाद्यान्न, पानी, हावा, माटो र जैविक विविधताबिना मानव सभ्यताको अस्तित्व सम्भव हुँदैन । त्यसैले जमराको सांस्कृतिक महत्त्वलाई प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय उत्तरदायित्वसँग जोडेर व्याख्या गर्न सकिन्छ । दशैँमा प्रकृतिबाट प्राप्त सामग्रीलाई धार्मिक सम्मान दिइन्छ, तर पर्वको वास्तविक सन्देश प्रकृतिको संरक्षण गर्ने व्यवहारमा पनि देखिनुपर्छ । पानीको दुरुपयोग गर्ने, खाद्यान्न खेर फाल्ने, अनावश्यक फोहोर उत्पादन गर्ने र प्राकृतिक स्रोतको विनाश गर्ने व्यवहारले प्रकृतिप्रतिको सम्मानको भावनालाई कमजोर बनाउँछ । जमराले हामीलाई जीवनको वृद्धि धैर्य, अनुकूल वातावरण र निरन्तर हेरचाहबाट सम्भव हुन्छ भन्ने सम्झना गराउँछ । मानिसको नैतिक विकास पनि एकै दिनमा सम्पन्न हुने प्रक्रिया होइन । आत्मसंयम, सदाचार र करुणा निरन्तर अभ्यासबाट विकसित हुन्छन् । यस अर्थमा जमरा केवल निधारमा लगाइने वा कानमा सिउरिने सांस्कृतिक प्रतीक होइन, यसले जीवनको निरन्तरता र प्रकृतिसँगको हाम्रो सम्बन्धबारे सोच्न प्रेरित गर्न सक्छ ।
टीका र आशीर्वाद : सम्बन्धको नवीकरण
विजयादशमीको अर्को महत्त्वपूर्ण सामाजिक पक्ष टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा हो । परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुनु, ज्येष्ठबाट आशीर्वाद लिनु, सानालाई शुभकामना दिनु र टाढिएका आफन्तसँग भेटघाट गर्नुले सामाजिक सम्बन्धलाई पुनः सक्रिय बनाउँछ । धार्मिक अनुष्ठानले समाजमा सम्बन्ध, पहिचान र सामूहिक स्मृतिलाई निरन्तरता दिन सक्छ । नृवंशशास्त्रीय अध्ययनले पनि अनुष्ठानलाई मानिसबीचको सम्बन्ध निर्माण र सामाजिक अर्थको पुनरुत्पादनसँग जोडेर विश्लेषण गर्छ । यस दृष्टिले दशैँको टीका पारिवारिक आत्मीयता र पुस्तान्तरणको सांस्कृतिक माध्यम हो तर ज्येष्ठताको सम्मानलाई अन्धआज्ञाकारितासँग समान मान्नु हुँदैन । आशीर्वादको वास्तविक अर्थ स्नेह, सद्भाव, कल्याण र नैतिक जीवनको कामना हो । स्वस्थ पारिवारिक सम्बन्धमा सम्मानसँगै संवाद, स्वतन्त्र विचार र पारस्परिक उत्तरदायित्व पनि आवश्यक हुन्छ । दशैँको सामाजिक अर्थ तब अझ व्यापक हुन्छ, जब परिवारभित्र मात्र होइन, समाजका विभिन्न वर्ग र समुदायबीच पनि सद्भावको भावना विकसित हुन्छ । आर्थिक अभावका कारण पर्व मनाउन नसक्ने परिवार, रोजगारीका कारण घर फर्कन नसक्ने श्रमिक, एक्लिएका ज्येष्ठ नागरिक र सामाजिक रूपमा सीमान्तकृत व्यक्तिप्रति सहयोगको भावना विकसित गर्नु पनि पर्वको मानवीय पक्ष हो ।
आधुनिक समाजमा विजयादशमीको सान्दर्भिकता
आजको नेपाली समाजमा भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद, आर्थिक असमानता, राजनीतिक अविश्वास र वातावरणीय चुनौतीजस्ता समस्या विद्यमान छन् । यस्तो अवस्थामा विजयादशमीको दर्शनलाई व्यक्तिगत आस्था र पारिवारिक उत्सवमा मात्र सीमित नराखी सार्वजनिक नैतिकतासँग जोड्न आवश्यक छ । भ्रष्टाचारविरुद्ध बोल्ने मानिसले आफ्नै व्यवहारमा इमानदारी कायम गर्नुपर्छ । सामाजिक न्यायको पक्षमा उभिने व्यक्तिले आफ्नो घर र समुदायमा हुने विभेदको पनि विरोध गर्नुपर्छ । राष्ट्रप्रेमको कुरा गर्ने नागरिकले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । धार्मिक आस्था राख्ने मानिसले फरक आस्था राख्ने व्यक्तिको सम्मान गर्न सक्नुपर्छ । यही व्यवहारमा धर्मको नैतिक अर्थ प्रकट हुन्छ । दशैँको अर्को समकालीन चुनौती अनावश्यक खर्च र सामाजिक प्रतिस्पर्धा हो । चाडपर्वलाई आर्थिक हैसियत प्रदर्शन गर्ने अवसर बनाउँदा विपन्न परिवारमा ऋण र मानसिक दबाब बढ्न सक्छ । उत्सवको मूल्य खर्चको आकारले होइन, त्यसले प्रदान गर्ने आत्मीयता, आनन्द र सामाजिक सद्भावले निर्धारण गर्नुपर्छ । पर्वको नाममा देखासिकी गर्नुभन्दा आफ्नो आर्थिक क्षमताअनुसार उत्सव मनाउनु, खाद्यान्नको दुरुपयोग घटाउनु र आवश्यकतामा परेकालाई सहयोग गर्नु बढी अर्थपूर्ण हुन्छ । यसले दशैँको सांस्कृतिक उल्लासलाई सामाजिक उत्तरदायित्वसँग जोड्छ । त्यसैगरी, धार्मिक परम्परा र आधुनिक मानवीय मूल्यबीच संवाद आवश्यक छ । विभिन्न समुदायका आस्था, संस्कार र परम्परा फरक हुन सक्छन् । त्यसैले विजयादशमीको दर्शनलाई सबैमाथि एउटै धार्मिक व्याख्या लाद्ने माध्यम बनाउनु हुँदैन । यसको मानवीय सन्देश न्याय, करुणा, सद्भाव र पारस्परिक सम्मानमा खोज्न सकिन्छ ।
विजयको नयाँ अर्थ
विजयादशमीको दार्शनिक महत्त्वलाई चार तहमा बुझ्न सकिन्छ–आत्मगत विजय, नैतिक विजय, सामाजिक विजय र सामूहिक विजय । आत्मगत विजय भनेको आफ्ना कमजोरी र अविवेकपूर्ण प्रवृत्तिको पहिचान तथा नियन्त्रण हो । नैतिक विजय भनेको स्वार्थभन्दा सत्य, न्याय र कर्तव्यलाई प्राथमिकता दिनु हो । सामाजिक विजय भनेको विभेद, शोषण र अन्यायविरुद्ध उभिनु हो । सामूहिक विजय भनेको समावेशी, न्यायपूर्ण र मानवीय समाज निर्माण गर्नु हो। यी चार तह यस लेखको विश्लेषणात्मक प्रस्ताव हुन, कुनै एउटा प्राचीन ग्रन्थमा यही वर्गीकरण पाइन्छ भन्ने दाबी होइन । यिनको उद्देश्य विजयादशमीको परम्परागत प्रतीकलाई आधुनिक जीवनका नैतिक प्रश्नसँग जोड्नु हो । विजयको अर्थ अर्को मानिसलाई होच्याउनु, पराजितलाई अपमानित गर्नु वा आफ्नो शक्तिको प्रदर्शन गर्नु मात्र होइन । वास्तविक विजयले अन्याय घटाउँछ, मानवीय गरिमा बढाउँछ र समाजलाई अझ न्यायपूर्ण बनाउँछ । दुर्गाको शक्ति अन्यायको प्रतिरोधका लागि, रामको मर्यादा कर्तव्यको स्मरणका लागि, गीताको कर्मयोग उत्तरदायित्वका लागि र बुद्धको करुणा द्वेषको अन्त्यका लागि प्रेरणा बन्न सक्छन् । यी परम्पराहरूको तात्त्विक आधार फरक भए पनि तिनलाई तुलनात्मक रूपमा अध्ययन गर्दा मानवीय जीवनलाई नैतिक बनाउने सम्भावना उजागर हुन्छ ।
उपसंहार : आफ्नै जीवनमा धर्मको स्थापना
विजयादशमी प्रत्येक वर्ष आउँछ । घरआँगनमा जमरा उम्रन्छ, निधारमा टीका लाग्छ, आफन्तहरू भेटिन्छन् र शुभकामनाको आदानप्रदान हुन्छ । तर पर्वको वास्तविक महत्त्व वर्षको एउटा दिनमा सीमित हुँदैन । त्यसले मानिसको विचार र व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ । दुर्गाको विजयले अन्यायविरुद्ध उभिने साहस सम्झाउँछ । रामकथाले ज्ञान र शक्तिसँगै मर्यादा आवश्यक हुन्छ भन्ने प्रश्न उठाउँछ । भगवद्गीताले कर्तव्यप्रतिको प्रतिबद्धता र निष्काम कर्मको महत्त्व देखाउँछ । उपनिषद्ले आत्मज्ञान र विवेकको आवश्यकता सम्झाउँछ । बौद्ध दर्शनले द्वेषभन्दा करुणा र प्रतिशोधभन्दा सद्भावको बाटो देखाउँछ । यी सबै परम्परालाई एउटै दर्शनका रूपमा मिसाउनु उचित हुँदैन । तर तिनलाई संवादमा राखेर हेर्दा विजयादशमीलाई आत्मपरिष्कार र सामाजिक उत्तरदायित्वको अवसरका रूपमा बुझ्ने आधार प्राप्त हुन्छ । दशैँको टीका लगाउँदा निधारमा मात्र होइन, व्यवहारमा पनि विवेकको प्रकाश फैलियोस् । जमरा सिउरिँदा प्रकृतिप्रतिको जिम्मेवारी बढोस् । आशीर्वाद लिँदा अरूको कल्याणको कामना मात्र होइन, त्यसका लागि योगदान गर्ने प्रतिबद्धता पनि जागोस्। दुर्गाको आराधना गर्दा निर्बलको संरक्षण गर्ने साहस विकसित होस् । रामको विजय स्मरण गर्दा मर्यादा र न्यायप्रतिको जिम्मेवारी बलियो बनोस् ।
अन्ततः विजयादशमीको गहिरो सन्देश यही हो, सत्यको विजयको कामना गर्नु पर्याप्त छैन, सत्यका पक्षमा उभिन पनि सक्नुपर्छ । धर्मको आराधना गर्नु मात्र पर्याप्त छैन, व्यवहारमा न्याय कायम गर्नुपर्छ । शक्तिको पूजा गर्नु मात्र पर्याप्त छैन, शक्तिलाई कमजोरको संरक्षणमा प्रयोग गर्नुपर्छ । असली विजय अरूलाई हराउनु मात्र होइन, आफूभित्रको अन्यायलाई हराउनु हो । असली धर्म अरूलाई उपदेश दिनु मात्र होइन, आफ्नै आचरणलाई न्यायपूर्ण बनाउनु हो । र, असली दशैँ केवल टीका र जमराको उत्सव होइन, मानवता, करुणा र सदाचारलाई जीवनमा स्थापित गर्ने संकल्प हो । विजयादशमीको यही दार्शनिक सन्देशले नेपाली समाजलाई मात्र होइन, सम्पूर्ण मानव समुदायलाई अझ न्यायपूर्ण, विवेकशील र करुणामय भविष्यतर्फ प्रेरित गर्न सक्छ । विजयादशमीको हार्दिक शुभकामना !
लेखक : आरती साप्ताहिक पत्रिकाको पूर्व प्रधान-सम्पादक तथा पियचडी अनुसन्धानकर्ता हुनुहुन्छ ।
सन्दर्भ सामग्री
Coburn, T. B. (1991). Encountering the goddess: A translation of the Devī-Māhātmya and a study of its interpretation. State University of New York Press.
धम्मपद। यमकवग्ग, पद ५। पालि मूलपाठ।
भगवद्गीता। अध्याय २, श्लोक ४७; अध्याय ४, श्लोक ७–८।
कठोपनिषद्। अध्याय १, वल्ली ३, मन्त्र ३–९।
Goldman, R. P. (Trans.). (1984). The Rāmāyaṇa of Vālmīki: An epic of ancient India, Volume I: Bālakāṇḍa. Princeton University Press.
देवीमाहात्म्य। मार्कण्डेय पुराण, अध्याय ८१–९३ (प्रचलित पाठक्रमअनुसार)।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?