प्लास्टिकका फूल तथा माला बिक्रीमा काठमाडौँ महानगरको प्रतिबन्ध, स्वदेशी उत्पादनलाई प्रोत्साहन
काठमाडौँ । दीपावली पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूल तथा मालाको बिक्री वितरण नगर्न तथा नगराउन आग्रह गरेको हो । महानगरले स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिनसमेत अनुरोध गरेको छ । महानगरपालिकाका अनुसार सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ ।
यसैबीच, नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको सहज बिक्री वितरणका लागि महानगर प्रहरी बलले सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न स्थानहरू तोकेको जनाएको छ ।
महानगरको यस कदमले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?