काठमाडौं । काठमाडौं उपत्यकामा कुनै व्यक्तिको मृत्यु भएपछि धेरै परिवारको पहिलो रोजाइ बन्ने गर्छ पशुपति आर्यघाट । त्यहाँ पुगेर अन्तिम संस्कार गर्नु नै धर्म, संस्कार र परम्पराको पूर्णता ठान्ने मानसिकता आज पनि समाजमा उत्तिकै बलियो बन्दै गएको छ । तर, यहाँ प्रश्न उठ्छ, के पशुपति मात्र अन्तिम यात्राको एकमात्र गन्तव्य हो ?
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा अवस्थित त्रिवेणी घाटले आज यही प्रश्नको उत्तर खोजिरहेको छ । त्रिवेणी घाट यो केवल घाट मात्र नभई एउटा ऐतिहासिक ठाउँ पनि हो । यो घाट पुस्तौंदेखि धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सभ्यताको साक्षी बनेको जीवित सम्पदा हो । वडा नम्बर ७ मा रहेको यो घाटले वडा नम्बर १ र ३ को सीमासमेत छोएको छ । त्यसैले यसको अस्तित्व कुनै एउटा वडाको सीमाभित्र मात्र सीमित छैन, यो सम्पूर्ण चन्द्रागिरिबासीको साझा धरोहर पनि हो ।
वर्षौंदेखि वडा नम्बर ७ ले यस घाटको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ । पूर्वाधारमा केही सुधार पनि भएका छन् । तर, समयले मागेको स्तरमा सेवा, सुविधा र व्यवस्थापन अझै पुगेको छैन । परिणामस्वरूप चन्द्रागिरिकै अधिकांश परिवार आफ्ना प्रियजनको अन्तिम संस्कारका लागि पशुपति पुग्न बाध्य छन् । विडम्बना आफ्नै आँगनमा इतिहास बोकेको घाट छदाछदै पनि अन्तिम यात्राका लागि बाहिर जानुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन ।
इतिहासलाई हेर्ने हो भने त्रिवेणी घाटको धार्मिक तथा सांस्कृतिक महत्व कुनै पनि हिसाबले सामान्य छैन । स्थानीय समाजको जीवनचक्रसँग जोडिएको यो घाटले जन्मदेखि मृत्युको संस्कारसम्मको यात्रालाई दशकौँदेखि साक्षी बसेर हेरिरहेको छ । अहिले इतिहासलाई केवल सम्झने वस्तु मात्र बनाइँदै छ जसकारण विस्तारै स्मृतिमा मात्र सीमित हुँदैछ ।
यदि त्रिवेणी घाटमा पशुपति आर्यघाटमा जस्तै प्रशिक्षित घाटे बाहुन, धार्मिक विधिका लागि आवश्यक जनशक्ति, दाउरा, सामग्री, शववाहन, प्रतीक्षालय, स्वच्छ वातावरण, पार्किङ, क्रियापुत्री भवनलगायतका सम्पूर्ण सेवा एकीकृत रूपमा उपलब्ध गराउन सकियो भने चन्द्रागिरिवासी आफ्नै ठाउँको घाट छोडेर अन्यत्र रोज्दैनन् । जब आफ्नै ठाउँमा सहज सेवा पाइन्छ, कम खर्च लाग्छ, आफ्नै समुदायबीच अन्तिम विदाइ सम्भव हुन्छ र संस्कार पनि पूर्ण रूपमा सम्पन्न हुन्छ भने पशुपतिसम्म पुग्नुपर्ने बाध्यता स्वतः घट्न सक्छ ।
यसको सुरुआत एक वडाले मात्र गर्न सक्दैन । त्रिवेणी घाटको विकास वडा नम्बर ७ को मात्र जिम्मेवारी होइन । यससँग जोडिएका अन्य छिमेकी वडा १, ३ र ६ सहित सम्पूर्ण चन्द्रागिरि नगरपालिकाले यसलाई साझा परियोजनाका रूपमा लिनसक्नुपर्छ । नगर नेतृत्व, जनप्रतिनिधि, धार्मिक अगुवा, बुद्धिजीवी, स्थानीयवासी र सरोकारवालाबीच साझा प्रतिबद्धता निर्माण गर्न सकियो भने त्रिवेणी घाटलाई राष्ट्रिय स्तरको धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न असम्भव भने छैन ।
यसले केवल अन्तिम संस्कारलाई सहज बनाउने छैन । यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने छ । धार्मिक सामग्री, पूजापाठ, यातायात, होटल, फूल व्यवसाय, काठ व्यवस्थापन, संस्कारसँग सम्बन्धित सेवा र पर्यटनका माध्यमबाट दर्जनौँ होइन, सयौँ स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुन सक्छ ।
आज हामी पशुपतिको महत्वको चर्चा गर्छौँ, किनकि त्यहाँ समयअनुसार सेवा विस्तार भयो, व्यवस्थापन सुदृढ बन्यो र समाजको विश्वास जितियो । यही अभ्यास त्रिवेणी घाटमा पनि गर्न सकिन्छ । फरक यति मात्र हो, हामीले चाहनुपर्छ, योजना बनाउनुपर्छ र एकताबद्ध भएर कार्यान्वयन गर्न सक्नुपर्छ ।
कुनै दिन चन्द्रागिरिका नागरिकले आफ्ना प्रियजनलाई अन्तिम बिदाइ गर्न पशुपति होइन, गर्वका साथ आफ्नै त्रिवेणी घाट रोज्ने अवस्था सिर्जना भयो भने त्यो केवल एउटा घाटको विकास हुनेछैन, त्यो चन्द्रागिरिको आत्मसम्मान, सांस्कृतिक पुनर्जागरण र स्थानीय स्वाभिमानको विजय हुनेछ । प्रश्न केवल यति हो, हामी इतिहासको गौरवलाई भविष्यको पहिचान बनाउन चाहन्छौँ, कि केवल सम्झनामा सीमित राख्छौँ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?