काठमाडौं । चीनसँगको व्यापारिक नाका कोरला जोड्ने सडकमा पछिल्लो समय मालवाहक सवारीसाधनको चाप बढेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ खामभित्तामा पहिरो प्रभावित सडक पार गर्दै सवारीसाधन मुस्ताङ हुँदै कोरला नाकातर्फ जाने गरेका छन् ।
रसुवाको भोटेकोशी बाढीपछि रसुवागढी नाका अवरुद्ध भएको र तातोपानी नाका पनि संचालनमा नरहेपछि चीनबाट आयात हुने सामानका लागि कोरला नाकाको प्रयोग बढेको हो । त्यससँगै कोरला नाकातर्फ जाने सडकमा मालवाहक सवारीको आवागमन पनि बढेको छ ।
मुस्ताङ भन्सार कार्यालयले अहिले कोरला नाकाबाट दैनिक करिब ५० देखि ७० वटासम्म मालवाहक सवारीसाधनको जाँचपास भइरहेको जनाएको छ । यसअघि सामान्य अवस्थामा दैनिक पाँच–छ वटा कन्टेनर मात्रै जाँचपास हुने गरेको थियो ।
रसुवागढी र तातोपानी नाकाबाट हुँदै आएको व्यापारको केही हिस्सा कोरला नाकातर्फ मोडिएपछि सीमावर्ती क्षेत्रमा चहलपहल बढेको छ । तर, बढ्दो व्यापारिक गतिविधिसँगै कोरला क्षेत्रमा आवश्यक पूर्वाधार र सडकको अवस्थालाई लिएर चुनौतीसमेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?