चीन–बंगलादेश सम्बन्ध थप मजबुत, अन्तर्राष्ट्रिय परिस्थितिमा पनि एकसाथ उभिने प्रतिबद्धता
ढाका । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आएपनि चीन र बंगलादेश एकअर्काको साथमा रहने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गर्नुभएको छ । उहाँले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, विकास र राजनीतिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
बंगलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै हाइछिङले चीन र बंगलादेशबीच आपसी सहयोग तथा साझेदारीलाई नयाँ उचाइमा पुर्याउनुपर्ने धारणा राख्नुभएको हो । चिनियाँ दूतावासको आयोजनामा भएको कार्यक्रममा बंगलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रको औपचारिक उद्घाटनसमेत गरिएको थियो ।
‘इतिहासले भविष्यलाई उज्यालो बनाउँछ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुवै देशका राजनीतिक दलका वरिष्ठ नेता, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, परराष्ट्र मामिलाका विज्ञ तथा व्यवसायी सहभागी थिए। कार्यक्रममा राजनीतिक संवाद, अनुभव आदानप्रदान र शासन सञ्चालनसम्बन्धी अध्ययन तथा सहकार्यलाई संस्थागत बनाउने विषयमा छलफल गरिएको थियो ।
पाकिस्तान भ्रमणपछि बंगलादेश पुग्नुभएका हाइछिङको भ्रमणलाई क्षेत्रीय राजनीतिक सहकार्य र आपसी सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्णरुपमा हेरिएको छ ।
यसअघि पाकिस्तान र बंगलादेशबीच पनि आपसी सम्बन्ध सुदृढ बनाउन विशेष अध्ययन संयन्त्र स्थापना गर्ने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?