काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि चार अन्तरिक्षयात्री बोकेको स्पेसएक्सको ड्र्यागन यान सफलतापूर्वक आइएसएसमा जोडिएको छ । ‘क्रू–१३’ का सदस्यले त्यहाँ करिब छ महिना बिताउँदै वैज्ञानिक अनुसन्धान तथा विभिन्न प्रयोगमा सहभागी हुनेछन् ।
स्पेसएक्सको फाल्कन–९ रकेटबाट बिहीबार फ्लोरिडाबाट प्रक्षेपण गरिएको ड्र्यागन ७ घण्टा ५५ मिनेटमै आइएसएस पुगेको हो । नासाले यो अमेरिकी अन्तरिक्षयानले आइएसएससम्म गरेको अहिलेसम्मकै सबैभन्दा छोटो यात्रा हो ।
क्रू–१३ मा अमेरिकी अन्तरिक्षयात्री जेसिका वाटकिन्स र ल्युक डेलानी, क्यानडाका जोशुआ कुट्रिक तथा रूसका सेर्गेई टेटेरियात्निकोभ छन् । उनीहरूले यसअघि आइएसएसमा रहेका चालक दलबाट जिम्मेवारी सम्हाल्नेछन् ।
यस अभियानले अन्तरिक्ष अनुसन्धानमा अमेरिका, क्यानडा र रूसबीचको सहकार्यलाई निरन्तरता दिएको छ । पृथ्वीमा राजनीतिक मतभेद कायम रहे पनि आइएसएसमा वैज्ञानिक अनुसन्धानका लागि अन्तर्राष्ट्रिय सहकार्य जारी रहनुले अन्तरिक्ष विज्ञानको साझा उद्देश्य र सहकार्यको महत्वलाई देखाएको छ ।
करिब २५ वर्षदेखि निरन्तर मानव उपस्थिति रहेको आइएसएसमा गरिने यस्ता अनुसन्धानले मानव स्वास्थ्य, प्रविधि र भविष्यका दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ज्ञान र अनुभव जुटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?