काठमाडौं । भारत र अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता टुंग्याउने विषयमा भइरहेको वार्ता अन्तिम चरणमा पुगे पनि तत्काल सम्झौता घोषणा हुने अवस्था नरहेको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताउनुभएको छ ।
जी–२० व्यापार मन्त्रीस्तरीय बैठकका क्रममा ग्रियरले भारत र अमेरिकाले सम्झौताका मुख्य असहमतिका विषय पहिचान गरिसकेको र ती विषयमा सहमति जुटाउन निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले दुवै पक्ष सम्झौता निष्कर्षमा पुर्याउन सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो ।
ग्रियरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको पछिल्लो टेलिफोन संवाद सकारात्मक र रचनात्मक रहेको भन्दै व्यापार सम्झौताको प्रगतिबारे समीक्षा गर्न दुवै नेताबीच निकट भविष्यमै पुनः कुराकानी हुन सक्ने संकेत गर्नुभयो ।
यसैबीच भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले ग्रियरसँग भेटवार्ता गरी अन्तरिम व्यापार सम्झौता छिटो निष्कर्षमा पुर्याउने विषयमा छलफल गर्नुभएको छ । गोयलले भेटवार्ता फलदायी रहेको बताउँदै पारस्परिक लाभ हुने सम्झौता अघि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।
भारत र अमेरिकाले यसअघि फेब्रुअरीमा द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरणको ढाँचा तयार पार्ने घोषणा गरेका थिए । तर अमेरिकी शुल्क नीतिमा भएका परिवर्तन तथा बजार पहुँचसँग सम्बन्धित विषयमा सहमति जुट्न बाँकी रहेपछि वार्ता लम्बिँदै आएको छ ।
भारतीय पक्षले अमेरिकी बजारमा आफ्ना बस्तुले चीन, बङ्गलादेश तथा आसियान क्षेत्रका प्रतिस्पर्धी बस्तुसँग समान वा उचित प्रतिस्पर्धात्मक अवस्था पाउने सुनिश्चिततापछि सम्झौता कार्यान्वयनमा लैजाने बताउँदै आएको छ ।
ग्रियरले तत्काल सम्झौता घोषणा हुने सम्भावना नरहेको स्पष्ट पारे पनि बाँकी विषयमा दुवै पक्षबीच निरन्तर छलफल भइरहेकाले वार्ता भने निष्कर्षतर्फ अघि बढिरहेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?