काठमाडौं । यस वर्षको दशैं तथा अन्य चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत १ सय रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि नयाँ प्रविधियुक्त एटीएम भएका केही बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ दरका नोट एटीएमबाट वितरण गर्न थालेका छन् । यस व्यवस्थाले चाडपर्वका बेला साना दरका नोट लिन बैंकको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले यसपटक विगतमा जस्तो दशैंका लागि ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउनेभन्दा सफा र सुकिला नोट सहज रूपमा उपलब्ध गराउने व्यवस्थालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ नोट वितरणलाई लिएर अनावश्यक प्रचार नगर्ने नीति राष्ट्र बैंकले लिएकोले नोट सटही तथा सफा नोट उपलब्ध गराउने काम बैंकिङ प्रणालीको नियमित सेवा नै भएको बताउनु भयो ।
राष्ट्र बैंकले असोज १ गतेदेखि थापाथलीस्थित केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकमार्फत सुकिला र सफा नोट उपलब्ध गराउँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?