काठमाडौं । साहित्यकार पूर्णचन्द्र पौड्यालको ‘गृहस्थी’ महाकाव्य सार्वजनिक भएको छ । साझा प्रकाशनबाट प्रकाशित महाकाव्यमा मानवीय जीवन, पारिवारिक सम्बन्ध, जन्म, चेतना, प्रकृति, आध्यात्मिकता र जीवन–जगत्का विविध पक्षलाई दार्शनिक तथा काव्यिक दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।
एकादश सर्गमा संरचित ‘गृहस्थी’ ले एउटा गृहस्थ जीवन र शिशुबीचको आत्मिक सम्बन्धलाई मूल आधार बनाएको छ । लेखकका अनुसार ५० वर्षको उमेरमा छोरीको पिता बनेपछि शिशुको आँखामा हेर्दा मनमा उठेका विभिन्न प्रश्न र त्यसबाट प्राप्त अनुभूतिले महाकाव्यको सिर्जनाको आधार तयार भएको हो ।
‘कहाँ थियौ ?’, ‘कता जान आयौ ?’ र ‘मेरो गृहस्थीमा किन बास माग्यौ ?’ जस्ता प्रश्नबाट सुरु हुने काव्यिक यात्रामा जन्मदेखि जीवनको उद्देश्य र मानव अस्तित्वसम्मका विषयलाई प्रस्तुत गरिएको छ । शिशुलाई घरमा आएको पाहुनाका रूपमा चित्रण गर्दै उसको आत्मिक यात्रामार्फत जीवनका अनेक पक्षलाई केलाउने प्रयास गरिएको छ ।
महाकाव्यमा जीवनका सकारात्मक र नकारात्मक दुवै पक्षलाई प्रस्तुत गर्दै सकारात्मक चेतना र आत्मशुद्धिको बाटोलाई महत्व दिइएको छ । लेखकले मानिसको सोच, व्यवहार, सम्बन्ध र जीवन भोगाइलाई आत्मचिन्तनसँग जोडेर हेर्नुभएको छ ।
कृतिमा नेपाली समाजमा प्रचलित तथा पछिल्लो समय प्रयोगबाट हराउँदै गएका शब्द र अभिव्यक्तिको समेत प्रयोग गरिएको छ । यसले महाकाव्यलाई भाषिक तथा सांस्कृतिक दृष्टिले पनि अर्थपूर्ण बनाएको देखिन्छ । पारिवारिक जीवनका सामान्य अनुभूतिदेखि ब्रह्माण्ड, प्रकृति र आध्यात्मिक चेतनासम्मका विषय काव्यमा समेटिएका छन् ।
लेखक पौड्यालले मानिसको चेतना र लेखनबीचको सम्बन्धलाई पनि आफ्नै दृष्टिकोणबाट व्याख्या गर्नुभएको छ ।
‘गृहस्थी’ मा प्रश्नोत्तर शैलीमार्फत शिशु पात्रले संसार र जीवनबारे आफ्ना अनुभव सुनाउने संरचना अपनाइएको छ । संसारका विभिन्न भू–भागदेखि प्रकृतिका विविध रूप हुँदै मानव जीवनको यात्रासम्मलाई काव्यको विषय बनाइएको छ ।
साधारण पारिवारिक घटनालाई दार्शनिक प्रश्नसँग जोडेर जीवनको अर्थ खोज्ने प्रयास महाकाव्यको प्रमुख विशेषता देखिन्छ । गृहस्थी जीवनलाई केवल पारिवारिक दायित्वका रूपमा नभई मानिसको आत्मिक विकास र सामाजिक चेतनासँग जोडेर प्रस्तुत गरिएको छ ।
कृतिमा सत्यलाई आधार बनाएर सहकार्य, सकारात्मक सोच र मानवीय मूल्यको पक्षमा अघि बढ्नुपर्ने सन्देशसमेत दिइएको छ । यस अर्थमा ‘गृहस्थी’ ले नेपाली समाज, परिवार र मानवीय सम्बन्धलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने कृतिका रूपमा आफ्नो उपस्थिति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?