सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढ्यो– सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन् ।
पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको बताएका हुन् । थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौँको एउटा चौर मात्रै नभएको भन्दै नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको स्मरण गरे ।
सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुनेमा जोड दिए । संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने थापाको भनाइ थियो । थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताउँदै नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने धारणा राखेका छन् ।
पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ । नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ थापाले भने ।
सभापति थापाले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए । लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखेका छन् ।
१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको थापाको भनाइ थियो । खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गर्दै थापाले यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम गत भदौ २३ र २४ गतेको आएको बताए ।
थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको दाबी समेत गरेका छन् ।
गत भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको उल्लेख गर्दै थापाले त्यसबाट पाठ सिक्दै कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको स्मरण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?