काठमाडौं । सह–प्राध्यापक डा. विनुबाबा अर्यालद्वारा लिखित अनुसन्धानात्मक ग्रन्थ ‘श्रीस्वस्थानी व्रतकथा विगतदेखि वर्तमानसम्म’ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन हलमा आरती भोग परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा धर्म, संस्कृति र साहित्य क्षेत्रका विद्वान्, मठाधीश, पीठाधीश तथा सन्तहरूको उपस्थितिमा ग्रन्थ सार्वजनिक गरिएको हो ।
ग्रन्थमा लेखकका बडाससुरा पुरोहित श्रीहरिनाथ अर्यालले वि.सं. १९५१ मा लेख्नुभएको हस्तलिखित श्रीस्वस्थानी व्रतकथालाई आधार सामग्रीका रूपमा समेटिएको छ । पुराना हस्तलिखित ग्रन्थहरू हराउँदै गइरहेको अवस्थामा ऐतिहासिक दस्तावेजलाई अनुसन्धान र विश्लेषणसहित पाठकसमक्ष ल्याइनुलाई नेपाली धार्मिक तथा सांस्कृतिक इतिहास संरक्षणको महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ । पितृपक्षको अवसरमा प्रकाशित यस कृतिले पूर्वजप्रतिको सम्मानसँगै पुस्तान्तरण हुँदै आएको ज्ञान र परम्पराको अभिलेखीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । ग्रन्थका प्रकाशक रामशरण अर्याल हुन् ।
लेखक तथा सम्पादक डा. अर्यालले अग्रजबाट प्राप्त ज्ञान, संस्कार, मूल्य र परम्परा अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले ग्रन्थमा श्रीस्वस्थानी व्रतकथाको मङ्गलाचरण, हस्तलिखित पाण्डुलिपि, त्यसको कम्प्युटर टङ्कन, संस्कृत पद्य तथा भावानुवाद, पद्मपुराणमा आधारित व्रतकथा, पूजापद्धति र सामग्रीलगायतका विषय समेटिएका छन् । साथै हरितालिका पर्व, गोत्र, श्राद्ध, महिलाको योगदान, अष्टमातृका र सामाजिक अवधारणाको समेत विश्लेषण गरिएको छ । श्रीस्वस्थानी व्रतकथालाई अन्धानुकरणभन्दा अध्ययन र विवेकका आधारमा बुझ्नुपर्नेमा जोड दिँदै उहाँले यसमा धार्मिक अनुशासन, नारी चेतना, कर्म र मानवीय जीवनका विविध पक्ष अभिव्यक्त भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वामी श्री जगदीश प्रपन्नाचार्यले शास्त्रको अध्ययन अभावमा प्राचीन नाम र परम्परा ओझेलमा पर्दै गएको बताउनुभयो । स्वामी डा. राजेश्वरानन्द सरस्वतीले नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको मौलिकता र ऐतिहासिक सन्दर्भलाई संरक्षण गर्दै राष्ट्रिय पहिचान उजागर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली सन्दर्भ समेटेर शास्त्र तथा संस्कृतिसम्बन्धी सामग्रीको अध्ययन र प्रकाशनलाई महत्त्व दिनुपर्ने बताउनुभयो ।
वैदिक अनुसन्धान गुठी वाग् गुरुकुलम्का अध्यक्ष स्वामी डा. केशवानन्द गिरिजीले श्रीस्वस्थानी व्रतकथा नेपाली मौलिक धार्मिक परम्पराको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै यसको सांस्कृतिक महत्त्वबारे चर्चा गर्नुभयो । उहाँले ‘स्व’ र ‘स्थानी’ शब्दको संयोजनबाट बनेको ‘स्वस्थानी’ को अर्थ आफ्नै गाउँठाउँकी देवीका रूपमा व्याख्या गर्नुभयो ।
कार्यक्रममा योगाचार्य रमेश सिटौला, पूर्वराज्यमन्त्री डा. कान्ता भट्टराई, पूर्वअर्थमन्त्री तथा पूर्वसचिव शंकरप्रसाद कोइराला, जगद्गुरु आश्रम शङ्खमूलका अध्यक्ष टीकाराम अर्याल र ब्रह्माकुमारी राजयोग केन्द्र बानेश्वरकी प्रमुख दीपा दिदीलगायतले कृतिको प्रकाशनप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । वरिष्ठ कलाकार हरिप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमले श्रीस्वस्थानी व्रतकथाको ऐतिहासिक, धार्मिक तथा सामाजिक पक्षमाथि अध्ययन र विमर्शको महत्त्वलाई उजागर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?