पहिचान र सभ्यताका लागि संसारमा ठूला–ठूला लडाई भएको देखिन्छ । समाजको वास्तविक पहिचान, मूल्य, मान्यता, आस्था प्राचीन ज्ञान विज्ञानका उपज हुन् । यस ज्ञान विज्ञानको विकासमा मानव पूर्खाले हजारौं वर्ष बेथित गरेका थिए । पूर्खाको अनूभव र पदचाप, देखाएको मार्ग र खियाएको डुङ्गा वर्तमान समाजको संस्कार र संस्कृति भएकोले यसको महत्व गहिरो छ । मानव समाजले यसैलाई आधार बनाएर थप विकासका बाटो कोरेको स्पष्ट देख्न सकिन्छ । मानव पूर्खाले बसालेको धिति विधि वर्तमान समाजले पनि जान्न पाउनु पर्छ अन्यथा यो लोप हुन्छ । संस्कृतिको लोपले के हुन्छ ? विश्वका विविध घटनाबाट हामी जग जाहेर नै छौ । यसै प्रशंगमा नेवारी सभ्यताको महत्व दर्शाउने लोक संस्कृतिका पक्षमाथि भीमनारायण श्रेष्ठले अनुसन्धानात्मक कोणबाट खोज गरी प्रकाशन गर्नु भएको “नेवाः लोकसंस्कृति” नामक कृर्ति अध्ययन गरी झुम्ने मौका पाए ।

भीमनारायण श्रेष्ठ चन्द्रागिरिमा स्थापित नाम हो । चन्द्रागिरि साहित्य समाजको अध्यक्ष पदमा क्रियाशील श्रेष्ठ नेपाली साहित्यलाई स्तरउन्नत्ती गर्न हर हमेसा लागि परेको मैले देखेको छु । भावलहर कविता सङ्ग्रह प्रकाशित गरिसक्नु भएको उहाँले ‘नेवाः लोकसंस्कृति’ नामक कृर्ति प्रकाशन गरी नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति अविनाश श्रेष्ठ प्रमुख आतिथ्यतामा भव्य समारोह बीच बिमोचन तथा सार्वजनिक समेत गर्न सफल हुनु भएकोमा हामी हर्षित छौं । कृर्तिमा समेटिएका विषयवस्तुले ऐतिहासिकता र सांस्कृतिक सत्व बोकेको कारण यो कृर्ति अनुसन्धानकर्ता, शोधार्थीको लागि जानकारी मूलक श्रोत बन्न सफल भएको मैले महशुस गरेको छु । आफ्नो कार्यमा कर्तव्यनिष्ठ भएर लाग्ने स्वभावका कारण उहाँको साहित्यिक उचाई बढेको भन्दा फरक नपर्ला । ‘संस्कृतिको क्षेत्रमा कलम चलाउनु सहज कुरा हैन, प्रज्ञा प्रतिष्ठानले गर्नु पर्ने कार्य भीम जीले एक्लै गरी कृति प्रकाशन गर्नुभएको छ’ भनेर त्यसै प्रज्ञा प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले भनेका होइनन् ।
नेवारी समाजको रितिरिवाज, पर्व, जात्रा, विविध धार्मिक सामाजिक विषयवस्तुका साथै वर्तमान चन्द्रागिरि समाजबाट लोप भएको पानीघट्ट, पानी संस्कृतिको समेत विषय पुस्तकमा उल्लेख गरिएको छ । लोकले प्रचलनमा ल्याएको गतिविधिले समाजलाई बाँधेको हुन्छ । सांस्कृतिक धरोहर कोतघर शीर्षकमा विविध जात्रापर्वहरु संचालन कोतघरबाट कसरी हुने गरको छ ? यसमा क–कस्को संलग्नता हुन्छ ? सरल रुपमा वर्णन गर्नुभएको छ । चन्द्रागिरिमा गढी, किल्ला, दुर्ग, कोत, कोट सबैगरी झण्डै तीन दर्जनजति छन् । सीमाका कारण होला भीमनारायण श्रेष्ठले नेवाः बाहुल्य क्षेत्र बलम्बु, सतुङ्गल र थानकोटमा रहेको कोतघरको बारेमा मात्र जानकारी दिलाउनु भएको छ । यी कोतहरु विद्या, ऊर्जा, तन्त्रको केन्द्र भएकोले हालसम्म पनि कोतघरसित जोडेर जात्रा हुने प्रचलन यथावत छ । नेवारी समाजको सामाजिक एकरुपताको महत्व नेवारी जात्रा, पर्व, संस्कारले गरेको छ ।

भ्यागुतालाई भात खुवाउने प्रचलन कोदो किसान र धान किसानको आवागमनपछि विकास भएको हो । मानिसहरु पशुपालन युगबाट कृषियुगमा प्रवेशको समय भएकोले यसको महत्व छ । नेपालमा भ्यागुतालाई जस्तै माछा, सर्प, कछुवा, हाँस, गंगटो आदीलाई पनि सभ्यतासित जोडेर पूजा गर्ने प्रचलन छ । पशुपालन युगबाट कृषियुगको प्रारम्भको संकेत र सङघर्ष भएकोले नेवारी समाजमा भ्यागुता पूजा जीवन्त छ । समाजमा विधमान सोह्र संस्कार, जंक्व पद्धति, जन्मोत्सव, सिन्हः जात्रा, यःमरी संस्कृतिले नेवारी समाजलाई खुल्ला संङ्ग्राहालय बनाएको छ । लेखकले समाजमा हुने यी विषमामा सुन्दर तरिकाले खोज–तलास गरी वर्णनात्मक रुपमा कृर्तिलाई नेवारी सभ्यता झै जीवन्त बनाउनु भएको छ । नेवाः लोकसंस्कृति नेपालको सम्पत्ती र धरोहर भएकोले यसलाई बचाउन विषयवस्तु पुस्तानान्तरण हुनुपर्छ । लेखकले पुर्खाहरुको देन पुस्तानान्तरण गर्न खेलेको यो भूमिका गर्व गर्न लायकको छ ।
नलिक्वाथ अर्थात नौक्वाको एतिहासिताले कृतिलाई ओझपूर्ण बनाएको छ । मत्स्यनारायण र शेषनारायणको ऐतिहासिक र सांस्कृतिक किंवदन्ती, अधिकमासको जानकारीले पाठकलाई अध्ययनमा मिठास थपेको छ । पुस्तकमा प्रयोग गरिएका अभिलेखजन्य शब्द, भाव र सन्दर्भसामग्रीले कृतिलाई प्रमाणित गर्न सहयोग गरेको छ । समग्रमा पुस्तकले नेवारी लोक जीवनलाई एक पटक जुरुक्कै उठाएको छ । नेवारी संस्कृतिलाई जीवन्त बनाएको छ । नेवारी समाजमा जीवन्त रहेको समाजिक एकरुपताको शुत्र सबैले सिक्न सक्नुपर्छ । महत्वपूर्ण खोजमूलक कृर्तिको लागि साधुवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?