काठमाडौं । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका मासु पसलको अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा भारत सीतामणि घरभई चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित यातायात कार्यालय नजिक हलाल मिट सप संचालन गर्दै आएका अब्दुल अमिन मन्सुरीको पसलमा लामो समयदेखि फ्रिजमा राखिएको मासु भेटिएपछि नष्ट गरिएको छ। उहाँले पसल संचालनको लागि कुनै पनि अनुमति नलिएको पाइएपछि तत्काल वडा कार्यालयमा गई पसल दर्ता गराई संचालन गर्न र सरसफाईलाई ध्यानमा राखेर व्यवसाय गर्न चेतावनी दिइएको थियो ।
नगरपालिकाको उद्योग, वाणिज्य तथा व्यापार प्रवद्र्धन शाखाको नेतृत्वमा भएको टोलीले चन्द्रागिरि नगर कार्यपालिकाको भवन आसपासबाट अनुगमन सुरु गरी गुर्जुधारा, यातायात कार्यालय क्षेत्र, बालागाउँ, दाउराडिपो र थानकोटलगायतका स्थानमा रहेका मासु पसलको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलको अवस्था सन्तोषजनक देखिए पनि केही पसलमा हप्तौँदेखि फ्रिजमा राखिएको मासु भेटिएको थियो । उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै त्यस्तो मासु तत्काल नष्ट गरिएको र आगामी दिनमा यस्ता कमजोरी दोहोरिए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइएको थियो। अनुगमन टोलीले मासुको गुणस्तर, पसलको सरसफाइ, भण्डारण तथा बिक्री गर्ने तरिका जाँच गर्नुका साथै व्यवसाय दर्ता र नवीकरणसम्बन्धी कागजातसमेत हेरिएको थियो ।
त्यस्तै, उपभोक्तालाई कम तौल नपरोस् भन्ने उद्देश्यले पसलमा प्रयोग भइरहेका ढक–तराजुको नापतौलसमेत परीक्षण गरिएको थियो । उद्योग, वाणिज्य तथा व्यापार प्रवद्र्धन शाखाका प्रमुख नमराज बानियाँले छिमेकी राष्ट्र भारत र तराईबासीले संचालन गरेका मासु पसलहरुमा केही कैफियत भेटिएको अन्यमा सामान्य नै पाइएको बताउनु भयो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी र नगरपालिकाका कर्मचारी सहभागी थिए ।
नगरपालिकाले खाद्य स्वच्छता र गुणस्तर कायम राख्न बजार अनुगमनलाई नियमित बनाउने जनाएको छ। विशेषगरी मासु, दुग्धजन्य पदार्थलगायत दैनिक उपभोग्य खाद्य वस्तुको बिक्री–वितरणमा आवश्यक स्वास्थ्य मापदण्ड पालना भए–नभएको निगरानीलाई प्राथमिकता दिइने नगरपालिकाको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?