चन्द्रागिरिमा मासु पसलको अनुगमन, अधिकांशमा स्वच्छता सन्तोषजनक, केहीलाई चेतावनी
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र संचालनमा रहेका मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाको उद्योग शाखाको नेतृत्वमा विभिन्न निकायका प्रतिनिधिसहित मासु पसलको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले चन्द्रागिरि–११, सतुंगलबाट अनुगमन सुरु गरी चन्द्रागिरि–१५ स्थित वडा कार्यालयअगाडि संचालनमा रहेका मासु पसलसम्म पुगेर निरीक्षण गरेको थियो ।
नगरवासीलाई स्वच्छ तथा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई नियमित बनाइएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा केही पसलमा सुधार गर्नुपर्ने पक्ष देखिए पनि अधिकांश पसलमा मासु सफा र स्वच्छ अवस्थामा बिक्री भइरहेको पाइएको उद्योग शाखा प्रमुख नवराज बानियाँले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय उपभोक्तामा खाद्य स्वच्छता र स्वास्थ्यप्रति सचेतना बढ्दै गएको र नगरपालिकाले पनि नियमित रूपमा बजार अनुगमन, सचेतना र आवश्यक निर्देशन दिँदै आएपछि मासु पसलको संचालन तथा व्यवस्थापनमा केही सुधार देखिएको शाखा प्रमुख बानियाँ बताउनु हुन्छ ।
अनुगमनका क्रममा टोलीले मासुको गुणस्तर र बिक्रीका लागि अपनाइएको सरसफाइको अवस्था निरीक्षण गर्नुका साथै पसल दर्ता तथा नवीकरणसम्बन्धी कागजात जाँच गरेको थियो ।
त्यस्तै, उपभोक्तालाई बिक्री गरिने मासुको तौलमा कुनै अनियमितता नहोस् भन्ने उद्देश्यले ढक–तराजुको नापतौलसमेत परीक्षण गरिएको थियो ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी र नगरपालिकाका कर्मचारी सहभागी थिए । अनुगमन प्रक्रियामा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।
नगरपालिकाले खाद्य वस्तुको गुणस्तर र स्वच्छता कायम गर्न बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । विशेषगरी मासु, दुग्धजन्य तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरणमा स्वास्थ्य मापदण्ड पालना गराउन नियमित अनुगमनलाई प्राथमिकता दिइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?