काठमाडौं । बिलबिजकबिना मोबाइल बिक्री तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–१० हाकिमचोकस्थित मोबाइल पसलबाट ४१ वर्षीय दीपक प्रसाईंलाई पक्राउ गरिएको हो । उनको पसलमा खानतलासी गर्दा विभिन्न सिरिजका ५० थान आइफोन, चार थान सामसुङ, दुई थान रेडमी, एक थान भिभो मोबाइल र एक थान आइप्याड बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट बिलबिजक नभएका पाँच थान आइफोन बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवै जना र बरामद मोबाइल तथा उपकरणलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्जस्थित भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?