नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभाव , शनिबारदेखि मौसममा सुधार
काठमाडौं । देशका अधिकांश भू–भागमा आज दिनभर वर्षा हुने सम्भावना रहेको छ । मौसममा देखिएको बदली र वर्षाको अवस्था शुक्रबारसम्म कायम रहने भएपनि शनिबारदेखि क्रमशः सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् रोजन लामिछानेले अहिले देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको जनाएका छन् । उहाँले बिहीबार रातिबाट केही समय मौसम खुल्ने सम्भावना रहे पनि शुक्रबार दिउँसो पुनः वर्षा हुन सक्ने र शनिबारदेखि भने वर्षाको क्रम घट्दै मौसममा सुधार आउने अनुमान गरिएको जानकारी दिनुभयो ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको हो ।
आज पूर्वी नेपालमा तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।
मौसम विभागले आज अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । उक्त वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरिएको छ ।
यसैबीच, काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
वर्षाले सडक तथा यातायातमा असर पर्न सक्ने भएकाले यात्रा गर्दा मौसमको अवस्था बुझेर सावधानी अपनाउन र सम्भावित जोखिमयुक्त क्षेत्रमा सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?