चन्द्रागिरिको प्राथमिक अस्पतालमा बेथिति, सुविधा कम, शुल्क महँगो
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले संचालनमा ल्याएको थानकोटस्थित नगरको प्राथमिक अस्पतालमै सेवा र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठ्न थालेको छ । नगरबासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले नगरपालिकाले संचालनमा ल्याएको प्राथमिक अस्पताल प्रभावकारी र व्यवस्थित स्वास्थ्य सेवा प्रणालीका रूपमा विकास गर्न नसकेको गुनासो बढ्दै गएको छ ।
प्राथमिक अस्पतालमा उपचारका क्रममा गरिने एक्स–रेको शुल्कसमेत अन्य अस्पतालको तुलनामा महँगो देखिएको छ । प्राथमिक अस्पतालमा एक्स–रेका लागि ४ सय रुपैयाँ शुल्क लिइएको अवस्थामा चन्द्रागिरि नगरपालिकाभित्रै सतुंगलस्थित सशस्त्र प्रहरी अस्पतालमा सोही प्रकृतिको एक्स–रेको शुल्क ३ सय ५० रुपैयाँ रहेको पाइएको छ । नगरबासीको सुविधाका लागि खोलिएको अस्पतालले सुविधा सम्पन्न अस्पतालभन्दा बढी शुल्क लिनुपर्ने कारण के हो भन्ने प्रश्न अहिले उठेको छ ।
प्रश्न केवल ५० रुपैयाँको अन्तरको होइन । नगर अस्पतालले उपलब्ध गराउने सेवा, उपकरण, जनशक्ति, प्रविधि र उपचारको गुणस्तरका आधारमा शुल्क निर्धारण गरिएको हो कि होइन भन्ने विषय महत्वपूर्ण बनेको छ । यदि प्राथमिक अस्पतालको सेवा र सुविधा सशस्त्र प्रहरी अस्पतालभन्दा स्तरीय छन् भने त्यसको आधार नगरपालिकाले सार्वजनिक गर्नुपर्छ । तर सेवा र उपचारको गुणस्तरमै बिरामीले प्रश्न उठाइरहेको अवस्थामा शुल्क भने तुलनात्मक रूपमा बढी हुनु आफैंमा गम्भीर व्यवस्थापकीय प्रश्न बनेको छ ।
प्राथमिक अस्पताल स्थापना गर्नु मात्रै स्थानीय सरकारको उपलब्धि हुन सक्दैन । अस्पतालको भवन संचालनमा आउनु र बोर्ड झुन्ड्याइनु एउटा कुरा हो भने त्यसलाई व्यवस्थित, जवाफदेही र जनमुखी स्वास्थ्य संस्थाका रूपमा संचालन गर्नु अर्को कुरा हो । अस्पतालमा पर्याप्त चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, प्रभावकारी परीक्षण सेवा, औषधिको उपलब्धता, नियमित विशेषज्ञ सेवा, स्वास्थ्य बीमाको सहज कार्यान्वयन तथा बिरामीमैत्री व्यवहार सुनिश्चित गर्न नसकिए अस्पताल स्थापना गर्नुको उद्देश्य नै अधुरो हुन्छ ।
प्राथमिक अस्पतालमा उपचारका लागि पुगेका कतिपय बिरामीले अपेक्षित उपचार तथा स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै आएका छन् । उपचारप्रति असन्तुष्ट भएर अन्य अस्पताल जानुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । स्वास्थ्य बीमाको सुविधा लिन प्राथमिक अस्पताल पुग्ने बिरामीले समेत सहज र प्रभावकारी सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीको कार्यसम्पादनमाथि समेत प्रश्न उठिरहेका बेला नगरपालिकाले अस्पतालको सेवा, चिकित्सकको योग्यता, जनशक्ति व्यवस्थापन, उपकरण, स्वास्थ्य बीमा तथा शुल्क प्रणालीको नियमित अनुगमन गर्नुपर्ने देखिन्छ ।
नगरबासीको करबाट संचालन हुने स्थानीय सरकारको स्वास्थ्य संस्थाले नागरिकलाई सरकारी अस्पताल भएकाले सस्तो र सहज सेवा पाइन्छ भन्ने अपेक्षा मात्र दिनु पर्याप्त हुँदैन । त्यसको प्रत्यक्ष अनुभूति नागरिकले उपचारको क्रममा गर्न पाउनुपर्छ । सेवा कमजोर हुने तर शुल्क भने अन्य अस्पतालको भन्दा बढी हुने अवस्था बनेको हो भने नगर अस्पतालको संचालन मोडेलमाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ ।
नगरबासीको सुविधाका लागि खोलिएको अस्पतालमा नै सेवा कमजोर, व्यवस्थापन अस्तव्यस्त र शुल्कमाथि प्रश्न उठ्ने अवस्था कायम रह्यो भने अस्पताल स्थापनाको औचित्यमाथि नै प्रश्न उठ्नेछ । नगरपालिकाले अब अस्पताल संचालनमा छ भन्ने औपचारिकता होइन, अस्पतालले नगरबासीलाई वास्तवमै कस्तो सेवा दिइरहेको छ भन्ने प्रश्नको तथ्यसहित जवाफ दिनुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?