चन्द्रागिरि–७ स्थित एक घरमा प्रहरीको छापा, करिव ६० किलो चाँदीका गहनासहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ चेकपोष्टबाट ६० किलो चाँदी र गहनासहित एक जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त परिणामको चाँदी बरामद गरेको हो । चन्द्रागिरि मै सुनचाँदी पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक अमन सर्राफलाई उनी बस्दै आएको कोठाबाट चाँदीसहित प्रहरीले पक्राउ गरेको हो ।
बरामद सामान चाँदी हो वा होइन भन्नेबारे एकीन पुष्टि नभएको र तौल तथा परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनामा सर्राफका अभिभावकको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको तर घटनास्थलमा उनीहरु नभएकोले उनीहरुको पनि खोजी जारी रहेको बताइएको छ ।
नियन्त्रणमा लिइएको चाँदी भन्सार छलेर ल्याइएको र कुनै पनि विल विजक नभएको बताइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छापा मार्ने क्रममा चन्द्रागिरि–७ का जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?