काठमाडौं । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आचार्यले स्रोत नखुलेको ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ ।
आयोगले आचार्य सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ माघ २ देखि २०८० मङ्सिर २१ गतेसम्मको आर्थिक कारोबार तथा सम्पत्ति विवरणमाथि अनुसन्धान गरेको जनाएको छ । उक्त अवधिमा आचार्य र उनका एकाघरका परिवार तथा सगोलमा रहेका व्यक्तिहरूको वैध आय ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ रहेको अनुसन्धानबाट देखिएको आयोगले उल्लेख गरेको छ ।
तर सोही अवधिमा उनीहरूले १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको आयोगको भनाइ छ । वैध आम्दानीभन्दा खर्च र लगानी अत्याधिक बढी देखिएकाले ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको निष्कर्षसहित आयोगले मुद्दा दायर गरेको हो ।
यस प्रकरणमा आचार्यकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु आचार्य र सरु आचार्यलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध आचार्यले आर्जन गरेको भनिएको सम्पत्तिसँग सम्बन्धित समान बिगो कायम गरी मागदाबी गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, भक्तपुरको मध्यपुरथिमि–२ निवासी प्रभा बस्नेत र काठमाडौंको पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ ।
आयोगले आचार्य तथा उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुरमा छुट्टै मुद्दासमेत दायर गरेको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी दुवै अभियोगमा प्रतिवादीहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?