क्यानले थाल्यो फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन, दोषी देखिए कारबाही गर्ने
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा आज बिहान भएका दुई हेलिकप्टर दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले छानबिन अघि बढाएको छ । दुर्घटनाबाट प्राप्त तथ्य, विश्लेषण र निष्कर्षका आधारमा कानुनअनुसार आवश्यक कारबाही तथा सुधारका उपाय अपनाइने प्राधिकरणले जनाएको छ ।
क्यानले विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नई निवासी करिब ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको पुष्टि गरेको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्राधिकरणले शोकमा रहेका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ ।
दुर्घटनामा घाइते भएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि क्यानले गरेको छ । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ भने मृतकको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विज्ञप्तीमा आज बिहान ८ बजेर १२ मिनेटमा सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन–एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टर दुर्घटनामा परेको र फिस्टेल एयरको हेलिकप्टरमा दुई विदेशी नागरिक सवार रहेको समेत जनाइएको छ । दुर्घटनाको कारण र अवस्थाबारे छानबिनपछि थप तथ्य सार्वजनिक गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?