पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिने निर्णयसँग सम्बन्धित प्रकरणमा आयोगले उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले निर्णयमार्फत अनुमति दिएको विषयलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।
उक्त निर्णयबाट कानुनविपरीत जग्गा सट्टापट्टा गर्न अनुमति दिइएको आरोपसहित आयोगले मुद्दा दायर गरेको हो । यस प्रकरणमा प्रतिवादी बनाइएका सबै ९७ जनासँग जनही ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको जनाइएको छ ।
आयोगले आरोपपत्र विशेष अदालतमा दर्ता गराएसँगै अब उक्त प्रकरणको न्यायिक प्रक्रिया अघि बढ्नेछ ।
(यहाँ क्लिक गर्नुहोस्) माधव कुमार नेपालसमेत_lha8ugu
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?