चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन, सस्तो टिकट बिक्री गर्न सहमति
काठमाडौं । नजिकिँदो चाडपर्वका बेला हवाई भाडा बढाइएको भन्ने गुनासो बढेपछि नेपाल नागरिक उड्डय प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा यात्रुका गुनासो सम्बोधन गर्न क्यानले बिहीबार सम्बन्धित वायुसेवा कम्पनीलाई छलफलमा बोलाएको हो ।
छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा कम मूल्यमा समेत टिकट बिक्री वितरण गर्ने सहमति भएको छ । साथै, यात्रुले हवाई टिकटको मूल्यबारे सहजै जानकारी पाउन सम्बन्धित वायुसेवा कम्पनीका टिकट बिक्री तथा वितरण प्लेटफर्ममा भाडादरसम्बन्धी सूचना प्रकाशन गर्ने सहमति पनि भएको छ ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र हवाई टिकट महँगो हुने गुनासो आउने गरेका छन् । यस्तो अवस्थामा यात्रुलाई भाडादरबारे स्पष्ट जानकारी उपलब्ध गराउने तथा सस्तो मूल्यमा टिकट खरिद गर्न सक्ने वातावरण बनाउने उद्देश्यले छलफल गरिएको जनाइएको छ ।
आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार २०७२ मंसिर २७ गते निर्धारण गरिएको थियो । उक्त व्यवस्थाअनुसार तोकिएको भाडादरको सीमाभित्र रहेर वायुसेवा कम्पनीहरूले टिकट बिक्री गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?