काठमाडौं । अविरल वर्षापछि अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड एक सातापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित किटिनी खण्डमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडक मर्मत तथा सरसफाइपछि उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
इन्द्रसरोवर गाउँपालिकाका अनुसार सडकमा खसेको पहिरो तथा ढुंगामाटो हटाउने, अवरुद्ध स्थानमा मर्मत तथा सरसफाइ गर्ने र यातायात सञ्चालनका लागि बाटो मिलाउने काम सम्पन्न भएपछि सडक सञ्चालनमा ल्याइएको हो ।
वर्षाका कारण सडकको अवस्था अझै संवेदनशील हुन सक्ने भएकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न, गति नियन्त्रण गर्न तथा पहिरो र ढुङ्गा खस्ने जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । सडक भासिएपछि उक्त खण्डमा यसअघि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?