काठमाडौं । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ बाट १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले खोजी गरी अभिभावकको जिम्मा लगाएको छ ।
गाउँपालिका–६ निवासी ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदालाई प्रहरीले खोजी गरी परिवारजनको जिम्मा लगाएको हो । उनी १० वर्षअघि आफ्नै घरबाट हराई सम्पर्कविहीन रहेका थिए ।
त्यतिबेला करिब छ वर्षका रहेका शिवकुमारको खोजतलासका क्रममा भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग आवश्यक समन्वय गरी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरीसँगको समन्वयमा उक्त संस्थाले खोजतलास गर्दा शिवकुमारलाई नयाँ दिल्लीमा फेला पारेको थियो । संस्थाले जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुखसँग समन्वय गरी शिवकुमारलाई नेपाल ल्याएर प्रहरी कार्यालयमा बुझाएको हो ।
शिवकुमारलाई आइतबार साँझ करिब ८ बजे अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?