काठमाडौं । इजिप्टमा स्वतन्त्र डिजिटल सञ्चारमाध्यम ‘मात्सदाश’ का ६ पत्रकार पक्राउ परेका छन् । सरकारले उनीहरूलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको र विदेशी सहयोग लिएर झुटा समाचार फैलाएको आरोप लगाएको छ ।
मात्सदाशका सहसंस्थापक अब्देलरहमान मन्सुरले भने आरोप अस्वीकार गर्दै पत्रकारहरू पत्रकारितामै संलग्न रहेको बताएका छन् । पक्राउ परेका पत्रकार कहाँ राखिएका छन् भन्ने जानकारी परिवार र कानुनी प्रतिनिधिलाई समेत नदिइएको अधिकारकर्मीहरूले बताएका छन् ।
पक्राउ पछि ८० भन्दा बढी अधिकार तथा नागरिक समाज संस्थाले पत्रकारलाई रिहा गर्न माग गरेका छन् । घटनाले इजिप्टमा स्वतन्त्र पत्रकारिता, सूचनाको अधिकार र राज्यको सुरक्षा दाबीबीचको संवेदनशील सम्बन्ध फेरि बहसमा ल्याएको छ ।
मुस्लिम ब्रदरहुडलाई इजिप्टले सन् २०१३ देखि प्रतिबन्धित गरेको छ । त्यसयता सरकारका आलोचक तथा पत्रकारमाथि उक्त समूहसँग सम्बन्ध रहेको वा गलत सूचना फैलाएको आरोप लाग्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?