एजेन्सी । अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा देखिएको तनावका बीच जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ ।
बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन् । बैठकमा अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन तथा व्यापारिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकी व्यापार प्रतिनिधिले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताएका छन् । उनका अनुसार विश्वका विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन् ।
अमेरिकाले चीन, भारत र युरोपेली संघसहित विभिन्न व्यापारिक साझेदारमाथि भन्सार शुल्क लगाएको छ । यसका साथै केही देशमा जबर्जस्ती श्रम र अत्यधिक औद्योगिक उत्पादन क्षमतासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ । चीनले भने आफ्नो निर्यातलाई लिएर उठाइएका चिन्तालाई अस्वीकार गर्दै आएको छ । चीनले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यका वस्तुको निर्यातले विश्व बजारलाई लाभ पुगेको बताउँदै आएको छ ।
यसैबीच, क्यानडा र युरोपेली संघले अमेरिकाबाहेक अन्य देशसँग पनि व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । क्यानडाले खुला, पूर्वानुमान गर्न सकिने र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीप्रति आफ्नो समर्थन दोहो¥याएको छ ।
जी–२० को अध्यक्षता यस वर्ष अमेरिकासँग रहेको छ । जी–२० मा १९ देशका साथै युरोपेली संघ र अफ्रिकी संघ सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?